चिनियाँ दूतावासका कर्मचारीले ह्याकरलाई भेटे…


प्रकाशित मिति : भाद्र १६, २०७६ सोमबार

नेपाली बैंकको एटिएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ दूतावासले चासो व्यक्त गरेको छ।

पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकर गिरोहलाई भेट्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए।  ‘हामीले गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेपछि साँझ करिब ७ बजे नेपालस्थित चिनियाँ दूतावासका फस्ट सेक्रेटरी फिङसा ओलिन आउनुभएको थियो’, प्रहरी स्रोतले भन्यो।

करिब डेढ घण्टा बसेका दूतावासका कर्मचारीले परिसरका प्रमुख उत्तम सुवेदीलाई समेत भेटेका थिए।  सुवेदीलाई भेटेर फिङसा ओलिनले आपराधिक गिरोहका हुन् भने अनुसन्धान राम्रोसँग गरिदिन आग्रह गरेका थिए।  ती कर्मचारीले आफ्नो देशको बेइज्जत गरेको भन्दै राम्रोसँग अनुसन्धान गरिदिन आग्रह गरेको स्रोतले बतायो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ दूतावासको टोलीले गिरोहलाई पनि भेटेको थियो।  ‘पक्राउ परेका पाँचैजनालाई भेटेका हुन्’, प्रहरी स्रोतले भन्यो ‘उनीहरुकै भाषामा केही बेर कुराकानी गरे, हामीले बुझेनौं। ’ प्रहरीले चिनियाँ नागरिक ४० वर्षका लु जिया लिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङ यिङ र २९ वर्षका लिन जिनमिङलाई पक्राउ गरेको थियो।

उनीहरुको बयानका आधारमा प्रहरीले सोमबार विमानस्थलबाट सु लुस ली नामका व्यक्तिलाई पनि पक्राउ गरेको छ।  सु लुस ली भने चिनियाँ मूलका फ्रान्सेली नागरिक हुन।  उनलाई भाग्दाभाग्दै प्रहरीले पक्राउ गरेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com