‘भू–स्वर्ग’ खप्तड !


प्रकाशित मिति : श्रावण २६, २०७६ आईतबार

विमलबहादुर विष्ट/ कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्था सक्रिय छन् । आध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’को उपनाम दिएर संसारभर प्रचार गर्नुभएको थियो ।

डोटी जिल्लाको खप्तडमा ५० वर्ष बिताउनुभएका खप्तडबाबा आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिनुहुन्छ । सन् १८८० मा भारतको काश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिनु भएका खप्डतबाबा विसं १९८६ मा नेपाल आउनुभएको थियो । सन्न्याश लिनु पूर्व उहाँ प्रतिभावान् डाक्टर पनि हुनुहुन्थ्यो । उहाँले कलकत्तास्थित ट्रपिकल मेडिकल कलेजबाट एम बी बी एस र बेलायतबाट सर्जनको अध्ययन पूरा गर्नुभएको थियो ।

त्यस्तै, काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापन पछि गहन साधनाका लागि उहाँले नेपालको खप्तड लेक रोज्नु भएको थियो । उहाँका धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । प्रकाशनमा आउन बाँकी उहाँकै हस्तलिखित अरु थुपै कृतिहरू पनि विभिन्न ठाउँमा बनाइएका मन्दिरहरूमा रहेका छन् ।

खप्तडबाबाको विसं २०५३ जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको थियो । खप्तड बाबाले भने झै खप्तड भू–स्वर्ग भन्दा कम नभएको यहाँका स्थानियबासीको दाबी छ । खप्तड क्षेत्रमा पर्यटकहरु भित्र्याउन अहिले सुदूरपश्चिमेलीहरु रातदिन खटिरहेका छन् । गलैँचा बिच्छाए झै विशाल हरिया फा“टहरु, मनै लोभ्याउने रंगीचंगी फूल, आश्चर्य लाग्ने यहा“को मौसम शायदै पृथ्वीका कुनै कुनामा होलान् । बाइस पाटन ५२ झोती भएको नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज पनि हो खप्तड क्षेत्र ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिउँद, वर्षा, गर्मी मौसममा भिन्न रुपमा प्रस्तुत हुने खप्तड धेरैका लागि नपुगी नहुने गन्तव्य पनि भएको स्थानीयवासी तथा पूर्व डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो – “सुदूरपश्चिम आउने पर्यटकहरुका लागि खप्तड नपुगी नहुने ठाउँ हो । खप्तड पुग्दा मनका अशान्ति सबै हराउने छन् ।” चार रैथानेसहित १३५ प्रजातिका फूल खप्तडमा नियाल्न सकिन्छ । यहाँ २२४ प्रजातिका जडीबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुङ्गी भेटिन्छ ।

विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहीँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता रहेको १५० मिटर लामो र ५० मिटर चौडा रहेको दह पनि रहेको छ । सहस्रलिङ्ग, नागढुङ्गा, ताल, दुर्लभ बझाङ्गी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार पनि हुन् । प्रकृतिले त खप्तड धनी छ नै । धार्मिक रुपले पनि खप्तड क्षेत्र त्यतिकै प्रसिद्ध रहेको पूर्वीचौकी गाउँपालिकाका काँग्रेस नेता रामप्रसाद उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो – “खप्तड क्षेत्र जति प्राकृतिक रुपमा धनी छ, त्यत्ति नै धार्मिक रुपमा पनि धनी छ । खप्तड पुगे घर फिर्ता हुन मन लाग्दैन ।” खप्तडको त्रिवेणी मन्दिर धार्मिक रुपले अत्यन्त महत्वपूर्ण मानिन्छ । गंगा दशहराका दिन पुजिने त्रिवेणी मन्दिरमा दर्शनार्थीहरुको ओइरो लाग्ने गर्छ । त्यो सँगै खप्तड बाबाको कुटीको पनि विशेष महत्व छ ।

समुद्री सतहदेखि करीब दुई हजार ७०० देखि ३ हजार २२७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २२५ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ । कहिले हिउँभित्र लुक्ने त कहिले रंगीचङ्गी फूलहरुसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषयवस्तु पनि भएको डोटीका नेकपाका नेता तथा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले बताउनुभयो । गंगा दशहराको बेला खप्तडको त्रिवेणीमा भव्य मेला लाग्ने गर्छ ।


पर्यटकीय दृष्टिले खप्तड अत्यन्त उर्बर क्षेत्र भएको स्थानियवासीको दाबी छ । यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका बझाङ्ग, अछाम, बाजुरा र डोटी जिल्लाको आर्थिक गतिविधि बढ्ने खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका पूर्व अध्यक्ष लालबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो – “खप्तड क्षेत्रमा पर्यटक मात्रै भित्र्याउन सके यहाँका चार पहाडी जिल्लाको विकास उल्लेख्य मात्रामा हुने देखिन्छ ।

अरु भन्दा खप्तडको विकास गर्न सके राम्रो ।” खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटक सँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने खप्तड पर्यटन विकास समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो – “खप्तडमा पर्यटन प्रवद्र्धन गर्न सकिए अर्बौ रुपैयाँको कारोबार हुनेछ ।” पर्यटन बाहेक खप्तडको जडीबुटी र वनस्पति पनि अरु आयस्रोत हुन् । जङ्गली विषदेखि संजीवनी बुटीसम्म खप्तडमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको खप्तड क्षेत्रमा आउनुभएका अनुसन्धानकर्ता नारायण रुपाखेती बताउनुभयो ।

खप्तड राष्ट्रिय निकुञ्जमा वार्डेनका रुपमा समेत काम गरिसक्नु भएका रुपाखेतीले खप्तडको जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने सिङ्गो सुदूरपश्चिम धान्न सक्ने आर्थिक लाभ हुने दाबी गर्नुभयो ।

खप्तडको प्रचारप्रसार र पर्यटन विकासका लागि विसं २०६३ सालमा खप्तड पर्यटन विकास समितिको गठन भयो । त्यसयता झण्डै २२ करोड रुपैयाँ विकास समितिमा आइसकेको छ तर, अहिलेसम्म पर्यटकलाई खाने बस्ने समेत खासै व्यवस्था खप्तडमा हुन सकेको छैन । खप्तडको बिचपानी र पाटनमा दुई वटा पाहुना घर बनाइएको भए पनि ती बस्न लायक नभएको हालै खप्तड पुगेर फर्किनु भएका सञ्चारकर्मी मोहन शाहीले बताउनुभयो । हरेक समिति र त्यहाँका कर्मचारी वर्षेनी आर्थिक अनियमितताको आरोपमा मुछिँदै आएका छन् ।

खप्तड मध्यवर्ती क्षेत्र विसं २०६१ सालमा गठन भएको हो । यस अन्र्तगत चार जिल्लाका २१ गाविस रहेका थिए । त्यसका तत्कालीन संस्थापक अध्यक्ष लालबहादुर बोगटी खप्तडका कारण यस क्षेत्रको विकासमा भन्दा समस्यामा बढी अल्झिनुपरेको दुःखेसो गर्नुहुन्छ । त्यस्तै निकुञ्जले गरेको आम्दानीमध्ये ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि खर्च गर्नु पर्ने प्रावधान छ तर, निकुञ्जको आम्दानी पुग्दो छैन ।

निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले भन्नुभयो – “पर्यटकबाट केही आम्दानी हुन्थ्यो, त्यो पटक्कै छैन । अरु आयस्रोत अहिले निकुञ्जसँग छैन ।” निकुञ्जबाट आएका वन्यजन्तुले अन्नपात खाइदिने, मान्छेमाथि आक्रमण गर्ने गरेकाले मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा बढी निरास छन् । निकुञ्ज भएकाले आफ्ना वस्तुभाउको चरिचरन गर्न पनि समस्या भएको स्थानियवासी बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com