सुविसु कार्यालय आगलागी : डिजेलमा आगो सल्किँदा ठूलो क्षति, इन्सुरेन्स मात्रै एक अर्बको


प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार

कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजेलमा आगो सल्किँदा इन्टरनेट, इन्ट्रानेट र केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसु केवल नेट प्रालिमा ठूलो क्षति भएको छ ।

काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा आज दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको र पछि कार्यालय प्रयोजनका लागि ट्याङ्कीमा राखिएको दुई हजार लिटरभन्दा बढी डिजेलमा आगो सल्किएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवत्ता प्रहरी नायब उपरीक्षक होबीन्द्र बोगटीले जानकारी दिनुभयो ।

बोगटीले भन्नुभयो, “पानी छ्याप्ने पाँच वटा दमकल प्रयोग हुँदा निभाउन नसकेपछि फेरि धुवाँ फ्याँक्ने दुई वटा दमकल ल्याएर आगो निभाउनुप¥यो, डिजेलमा आगो लाग्दा ठूलो क्षति हुन पुग्यो ।”

सय करोडको इन्सुरेन्स गरेको सुविसुको कार्यालयमा दिउँसो १२ः३० बजे आगो लागेको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युत् चुहिएर आलो लागेको प्रहरीले जनाएको छ । शुरुमा जेनेरेटर राख्ने कोठाबाट सल्किएको आगो सञ्चित गरेर राखिएको डिजेल ट्याङकीमा पुगेपछि ठूलो रुप लिएको प्रालिका उपाध्यक्ष विजयलाल श्रेष्ठले बताउनुभयो ।

“जब डिजेल ट्याङ्की ब्लाष्ट भयो, त्यसपछि आगो अनियन्त्रित भयो, श्रेष्ठले घटनाबारे भन्नुभयो । महँगा राउटर, उच्च प्रोसेसरसहितको सर्वर, एमपिएस राउटर, उच्च क्षमताको डिभाइस नष्ट भएको श्रेष्ठले जानकारी दिनुभयो । उक्त कम्पनीले इन्टरनेट सेवाका साथै डाटा ट्रान्सफर गर्ने प्रविधि इन्ट्रानेट, विभिन्न कम्पनीका लागि होस्टिङ सेवा र केवल टेलिभिजन सेवा ‘क्लियर टिभी’ उपलब्ध गराउँदै आएको छ ।

श्रेष्ठले कम्पनीको तर्फबाट आन्तरिक तथा इन्सुरेन्स कम्पनी र प्रहरीले छुट्टाछुट्टै रुपमा घटनाको अनुसन्धान गरिरहेको छ । इन्सुरेन्स मात्रै रु एक अर्बको गरिएकाले यति नै क्षति भयो भनेर भन्न सकिने अबस्था नरहेको कम्पनीले जनाएको छ ।

उपकरण कुन बिग्रिएको छ, कुन छैन भनेर हेरेपछि मात्रै क्षतिको विवरण भन्न सकिने जनाइएको छ । आगो निभाउन प्रयोग भएको पानीको फोहरालेसमेत डिभाइस सर्ट हुनसक्ने भएकाले भ्याकुम लगाएर तानेपछि उपकरणको परीक्षण गरेर ठीक भए नभएको हेरिने श्रेष्ठले बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले काठमाडौँमा यति ठूलो आगलागी पहिलोपटक देखेकोे बताउनुभयो । “आगोको मुस्लो नै ५० फिटमाथि देखिन्थ्यो, डिजेलका कारणले ठूलो क्षति भएको छ, उहाँले भन्नुभयो । दिउँसो १२ः३० मा लागेको आयो २ः०० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com