मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी


प्रकाशित मिति : श्रावण १६, २०७६ बिहीबार

काशीराम शर्मा/ मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो । उहाँले मस्जिदमा नमाज पढ्दा र कुनै शुभकार्य गर्दा इस्लाम धर्मावलम्बीलाई टोपी अनिवार्य गरिएको बताउनुभयो ।

मुस्लिम समुदायले आफ्नै परम्पराअनुसारको टोपी लगाउँदै आए पनि पछिल्लो समयमा बाँकेका मुस्लिम समुदायका अगुवाहरुले देशको राष्ट्रियता झल्कने ढाकाटोपी लगाउन थालेका छन् । इस्लाम धर्ममा कुन टोपी लगाउने भन्ने तोकिएको छैन । त्यसैले पनि पूजाआजा वा शुभकार्य गर्दा ढाकाटोपी लगाउने प्रचलन बढ्न थालेको धर्मगुरु मन्जरीको भनाइ छ । उहाँले भन्नुभयो, “अरू टोपी लगाउँदा पनि हुन्छ, तर धेरैजसो मुस्लिम धर्मका अगुवाले ढाकाटोपी लगाउँछन् । अन्यभन्दा देशको राष्ट्रियता झल्कने टोपी नै लगाउन उचित लाग्छ ।”

यहाँका मुस्लिम समुदायमा ढाकाटोपी लगाउनेको सङ्ख्या बढ्दो छ । अधिकांश मुस्लिम अगुवा ढाकाटोपीमा सजिएर विभिन्न कार्यक्रम, सभा, समारोह वा अन्य कुनै शुभकार्यमा मात्र नभई घर, पसल तथा बाहिर कतै जाँदा ढाकाटोपी लगाउन थालेका छन् । कुनै शुभकार्य वा धार्मिककार्य गर्दा टोपी लगाएर मात्र गर्ने प्रचलन रहेको छ । राष्ट्रियता र पहिचानका लागि अधिकांश मुस्लिमले टोपी लगाउने गरेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर मुस्लिम युवा लतिफ सल्मानी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “धर्मगुरुदेखि सर्वसाधारण मुुस्लिमले नेपाली टोपी प्रयोग गर्छन्”, मैले पनि “नेपालीको पहिचान झल्काउन ढाकाटोपी लगाउँदै आएको छु ।” नेपाली पहिचानसँग जोडेर यहाँका मुस्लिम समुदायले ढाकाटोपी प्रयोग गर्दै आएका छन् । उहाँका अनुसार ढाकाटोपी नलगाउँदा केही चिज बिर्सेजस्तो लाग्छ । बाल्यकालदेखि नै उनले ढाकाटोपी लगाएकाले नलगाउँदा उनलाई खल्लो महसुस हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घरबाहिर निस्कँदा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ पनि ढाकाटोपी लगाएर मात्र निस्कनुहुन्छ । त्यसो त चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडवाडमा रमाउने गर्नुहुन्छ । नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दशैँ तिहारमा हिन्दूको हातबाट टीका लगाउँदै आउनुभएको छ । नेपाली भएको चिनाउने एकमात्र माध्यम ढाकाटोपी भएकाले बाहिरी देश जाँदासमेत ढाकाटोपी लगाएर जाने गरेको उहाँले बताउनुभयो ।

“म हिन्दूका चाडपर्वमा निकै रमाउँछु, जहाँ जाँदा पनि ढाकाटोपी लगाएर जान्छु । मलाई ढाकाटोपी असाध्यै मन पर्छ”, उहाँले भन्नुभयो, “हामीले गर्ने काममा सामाजिक सद्भाव झल्किनुपर्छ । मुस्लिमले ढाकाटोपी लगाउँदा हाम्रा भगवान् दुखी हुनुपर्ने कुनै कारण छैन । हाम्रो राष्ट्रियतासँग जोडिएको पहिचान हो ढाकाटोपी ।” नेपाली टोपी लगाएर भारतमा जाँदासमेत सम्मान मिलेको अनुभव उहाँसँग छ । “भारतमा जाँदा नेपाली मुस्लिम भनेर सम्मानजनक व्यवहार पाइन्छ”, उहाँले भन्नुभयो ।

नेपालगञ्जमा ढाकाटोपीको व्यापार सन्तोषजनक भएको घरबारी टोलस्थित पाल्पाली ढाकाटोपी पसलका सञ्चालक कृष्णप्रसाद कँडेलले बताउनुभयो । विसं २०४२ देखि नेपालगञ्जमा ढाकाटोपीको व्यापार गर्दै आउनुभएका उहाँले ढाकाटोपीको व्यापारमा विस्तारै वृद्धि हुँदै गएको बताउनुभयो । यसैबाट धेरै राम्रो नभए पनि खानलाउन पुगेको उहाँको भनाइ छ । पञ्चायतकालको तुलनामा पछिल्लो समय ढाकाटोपीको व्यापार केही खस्किएको बताउँदै उहाँले पूजाआजा, विवाहमा प्रयोग गर्नका लागि सर्वसाधारणले टोपी किन्ने गरेको बताउनुभयो ।

बाँके मुस्लिम समुदायको बाहुल्य भएको जिल्ला हो । राष्ट्रिय जनगणना २०६८ अनुसार चार लाख ९१ हजार ३१३ जनसङ्ख्यामध्ये बाँकेमा झण्डै २० प्रतिशत अर्थात् ९५ हजार मुस्लिम समुदायको बसोबास छ । नेपालगञ्ज उपमहानगरपालिकामा मुस्लिम समुदायको जनसङ्ख्या बाक्लो छ भने अन्य स्थानीय तहमा पनि यो समुदायको उपस्थिति उल्लेख्य छ ।

मुस्लिम समुदाय जनसङ्ख्याका आधारमा हेर्ने भने बाँके जिल्ला नेपालमै दोस्रो स्थानमा पर्छ । त्यसैले पनि मुस्लिम समुदायका चाडपर्वमा नेपालगञ्जमा उल्लासपूर्ण वातावरण बन्छ । मुस्लिम समुदायका चाडपर्वमा अन्य समुदाय पनि सरीक भएर परिवेशलाई अझै सद्भावपूर्ण बनाउँछन् भने अन्य समुदायका चाडपर्वमा मुस्लिम समुदायको उपस्थिति पनि उत्तिकै उल्लासमय नै हुन्छ ।

नेपालगञ्ज सद्भाव र सभ्यता बोकेको शहर हो । नेपालगञ्जमा हरेक चाडपर्वमा सबै समुदायमा उत्तिकै रौनकता हुन्छ । ढाकाटोपी मात्रै नभई मुस्लिम समुदायले लगाउने पोशाक हिन्दूले लगाउने र हिन्दूले लगाउने पोशाक मुस्लिमले लगाउने चलन बढ्दै गएको छ । यो नेपालगञ्जको विशिष्ट पहिचान हो । यहाँ हिन्दू, बौद्ध, मुस्लिम, शिख र इसाई मिलेर बसेका छन् ।

मन्दिरमा घण्टी बजिरहँदा, मस्जिदमा अल्लाह अबकरको आवाज गुन्जिन्छ । शिखले वाहे गुरु भनिरहँदा बौद्धको मन्त्रोचारण गुञ्जयमान हुन्छ । हिन्दूहरु मन्दिर जाँदा मस्जिद भएर जानुपर्छ । मुस्लिमहरु मस्जिद जाँदा मन्दिरहरु भएर जानुपर्छ । हरेक दुईरतीन सय मिटरको दूरीमा मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा रहेका छन् । सबैले एकअर्काको धर्मको सम्मान र सत्कार गर्नु यहाँको परम्पराजस्तै भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com