बच्चाको ज्यान बचाउन जाँदा डुबेका थिए निश्चल, बच्चाको परिवार भन्छ,”ऊ हिरो हो” ( भिडियो )


प्रकाशित मिति : पुस १५, २०७५ आईतबार

अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थी निश्चल घिमिरेको मृत्युको कारण खुलेको छ । अनुसन्धान अनुसार, आफूले रेखदेख गर्दै आएको बालकलाई बचाउने क्रममा डुबेर उनको मृत्यु भएको हो । सेभेन न्युजसंगको कुराकानीमा बालकको परिवारले आफ्नो बच्चाको जीवन रक्षाको लागि जीवन बलि दिएका निश्चल आफूहरुको लागि हिरो रहेको बताएका छन् । उनीहरुले निश्चल सधै एक असल व्यक्ति रहेको तथा आफूहरुले अत्यन्तै माया गर्ने गरेको र सधै उनलाई याद गरिरहने बताएका छन् ।

२२ वर्षीय निश्चल बिहिबार बेलुका ४ बजे देखि हराइरहेका थिए । ग्लेनेल्ज समुद्री किनारबाट हराएका उनको सकुशल उद्धारको लागि प्रहरी खटिएको थियो । तर, शुक्रबार साँझ ७:३० बजे बोट र्याम्पमा उनको शव भेटिएको थियो । परिवारका कान्छा छोरा निश्चल तीन वर्ष अघि अष्ट्रेलिया आएका थिए ।

निश्चल एडिलेडस्थित क्लेयरेन्स पार्कमा बसोबास गर्दै आएका थिए । नर्सिङ्ग पेशामा आबद्ध उनले १० वर्षीय बोल्न नसक्ने एक बालकको हेरचाह गर्दै आएका थिए । बिहिबार पनि उनी बालकलाई लिएर समुद्री किनारमा पुगेका थिए । हराउँदा निश्चलको कार, पर्स र लुगा र मोबाइल समुद्र तटमै समुद्री किनारमा थियो भने बालक अत्तालिंदै एक घरको ढोका ढक्ढकाउन पुगेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com