कतारमा ज्यान गुमाएका सार्कीको परिवारलाई बीमा रकम


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ।

गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार १४ लाख बीमावापतको रकम उपलब्ध गराएको हो।

इन्स्योरेन्स कम्पनीमा बीमा गरेको पाँच महीना नपुग्दै ज्यान गुमाएका सार्कीकी श्रीमती रामकुमारी सार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको कम्पनीका दिक्तेल शाखा प्रमुख नारायण रिजालले बताए। दिक्तेलस्थित त्रिवेणीचोकमा रहेको शाखा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले मृतकका श्रीमतीलाई चेक हस्तान्तरण गरे।

सार्कीलाई कम्पनीले क्षतिपूर्तिवापत ८० हजार उपलब्ध गराउने जानकारी दिएको छ। वैदेशिक रोजगारीको सिलसिलामा विगत १८ वर्षदेखि कतारलगायत विभिन्न देशमा कार्यरत सार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कम्पनीले जनाएको छ।

उनका एक श्रीमती तथा दुई छोरा र तीन छोरी छन्। धन कमाउन विदेश गएका अभिभावकको विदेशमै ज्यान गएपछि परिवार शोकमा डुबेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com