जापानले ८ राष्ट्रबाट विदेशी कामदार ल्याउने, ७ भित्र नेपाल परेन, बाँकी एकभित्र पर्ला ?


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

जापान सरकारले श्रमिक अभाव कम गर्न बढी भन्दा बढी विदेशी कामदार लैजाने प्रस्ताव पारित गरिसकेको छ । सरकारले प्रारम्भिक चरणमा ८ देशबाट कामदार ल्याउने तयारी गरेको भएपनि भियतनाम, फिलिपिन्स, इण्डोनेशिया, कम्बोडिया, चीन, थाइल्याण्ड र म्यानमार लगायतका ७ देशको मात्र नाम जापानी संचारमाध्यमहरुबाट सार्वजनिक भएका छन् । नाम सार्वजनिक भएका राष्ट्रबाट कामदार लैजान द्धिपक्षिय सम्झौता गर्ने तयारी जापानले गरिरहेको छ । नयाँ प्रकारको भिसा प्रणाली आगामी अप्रिलबाट कार्यान्वयनमा आउने भएपनि सार्वजनिक ७ देशहरुभित्र सूचीमा नेपाल भने परेको छैन । समाचार अनुसारअन्य राष्ट्रसँग पनि यस विषयमा छलफल भइरहेको बताइएको छ ।

भियतनाम लगायतका राष्ट्रले जापानमा काम गरिरहेका आफ्ना नागरिकको अधिकार सुरक्षित पार्न गरेको अनुरोध बमोजिम सरकारले यस्तो निर्णय गरेको बताएको छ । साथै जापान सरकारले पनि त्यहाँ काम गर्ने विदेशी नागरिकको पहिचान र जीवनशैलीमा सुधार ल्याउन चाहेको छ ।

यससँगै सम्झौताको माध्यमबाट जापानमा काम गर्न आउने विदेशी कामदारलाई ठग्ने दलालहरुबारे सूचना संकलन गर्ने वातावरणको निर्माण गर्ने पनि सरकारको उद्धेश्य रहेको छ । जापानमा हाल रहेको इन्टर्न प्रणालीअन्तर्गत दलालहरुले विदेशी कामदारबाट ठूलो परिमाणमा रकम असुल्ने गरेको पाइएको छ ।

द्धिपक्षिय सम्झौता भएपछि यस्ता दलालको पर्दाफास गर्न दुई देशबीच सूचनाको आदान प्रदानमा समेत मद्धत पुग्ने विश्लेषण गरिएको छ ।

त्यस्तै वित्तीय सेवा संस्थाले वित्तीय संस्थाहरुका लागि समेत केही निर्देशिका तयार गर्दै गरेको बताइएको छ । यसले विदेशीहरुलाई कुनै पनि वित्तीय संस्थामा खातामा खोल्न पाउने अनुमति दिन्छ र तलव व्यवस्थापनमा पनि सहयोग पुग्छ ।

हाल प्राविधिक इन्टर्नका लागि बैंक खाता खोल्न केही कठिन अवस्थ छ । त्यस्तै नयाँ कानून अनुसार कम्पनीहरुले विदेशी कामदारलाई पनि जापानी कामदारकै बराबर तलव दिनुपर्ने व्यवस्था राखिएको छ । उनीहरुलाई मेडिकल सेवा पनि दिइने भएको छ । सार्वजनिक संस्थाहरुमा अनुवाद प्रणाली राखिने भएको छ । त्यस्तै कामदारलाई घर खोज्न सजिलो होस् भन्नका लागि सरकारले भाडामा घर उपलब्ध हुने बारे पनि सूचना दिने भएको छ ।

नयाँ कानूननले कामको अवसरको सृजना गर्न सहयोग त गर्छ नै साथै गैरकानूनी कामदार घटाउन सरकारलाई सहयोग समेत गर्ने विश्वास लिइएको छ ।

के नेपालको सम्भावना छ ?

माथिका ७ देशहरु प्रारम्भिक चरणमा छानिएका राष्ट्रहरु हुन् । नेपाल सरकारका तर्फबाट पनि जि–टु–जी मार्फत कामदारहरु पठाउनका लागि तयारी र आवश्यक गृहकार्य भैरहेका समाचार भने केही समयअघि आएका थिए । छोटो समयभित्र जापानले गरेको तयारी र त्यो समयभित्र नेपालका तर्फबाट पहलकदमी दिन ढिलाई भएका कारणपनि सुरुवाती चरणमै नेपालबाट कामदार ल्याउन सक्ने सम्भावना कम रहेको जानकारहरु बताउँदछन् । त्यस्तै जापानले अघिल्ला प्रकृयाहरुमा जापान आएका विदेशीहरुले जापानमा देखाएको व्यवहारलाई पनि नयाँ कामदारका रुपमा स्वीकार गर्ने कि नगर्ने भन्ने निश्चित गर्ने समाचारहरु पनि आएका थिए । यस मामिलासंग जानकार केही व्यक्तिहरुसंग बुझ्दा कानुन उलंघन गरेर जापानले डिपोट गरेका नेपालीहरुलाई स्वीकार गर्ने–नगर्ने विषयको नेपालको नीति, शरणार्थी आवेदन दिनेहरुमा नेपालीहरु अग्रस्थानमा देखिनुले पनि नेपालीहरुलाई दक्ष तथा अर्धदक्ष कामदारका रुपमा स्वीकार गर्न जापानलाई गाह्रो हुनसक्ने बताउँदछन् ।

हालसम्म जापान सरकारले आधिकारिक रुपमा ८ वटा देशहरुबाट मात्रै कामदार ल्याउने नभनेको, एक देशको नाम अझै सार्वजनिक हुन बाँकी नै रहेको र नेपाल सरकारका तर्फबाट पनि पहल भैरहेको कुरा आउनुले नेपालको सम्भावना ‘शुन्य बराबर’ हो भन्ने अवस्था छैन । आवश्यक तयारीका लागि समय अभावका कारण पहिलो बर्षमा नै नेपालबाट कामदार ल्याउने सम्भावना भने कम देखिन्छ ।

हाम्रो भन्नु

अबसरका हिसावले हेर्ने हो भने सस्तो मूल्यमा विदेशमा श्रम बेचिरहेका नेपालीहरुका लागि जापान सरकारको पछिल्लो योजना लाभदायी छ । सस्तो मूल्यमा आफ्नो श्रम बेचिरहेका नेपालीहरुको हकमा त्यही श्रमलाई राम्रो मूल्य दिएर ल्याउने जापान सरकारको योजनामा नेपालले पनि पहलकदमी लिनु आवश्यक हुन्छ । जापान सरकारको यो प्रकृया सुरुभएदेखिनै हामीले निरन्तर भनिरहेको कुरा चै कसैले पनि हतार नगर्नुस् । जापानले यसरी कामदार ल्याउने प्रकृया पूर्ण रुपमा सरकारी स्तरमा हुने काम हो । कोही व्यक्ति वा कन्सल्टेन्सीले चाहँदैमा यही प्रकृयामार्फत तपाईलाई जापान पठाउन सक्दैन । जापानको भिसा देखाएर कमाउधन्दामा लाग्नेहरुलाई निरुत्साहित गर्न जापान सरकार आँफै तल्लिन रहेको यो अवस्थामा दलालहरुको कुरा सुन्नु र भर पर्नु मुर्खता सिवाय केही हुँदैन । त्यसैले कसैको पनि प्रलोभनमा नपर्नुहोला । यही प्रकृयामा जापान आउने भनेर कसैलाई पनि पैसा दिने काम नगर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com