ब्राजिलमा बैंक लुटपाट गर्न गरिएको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

ब्राजिलमा बैंक लुटपाट गर्न गरिएको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । बैंक लुट्नका लागि बन्धक बनाइएका पाँच जनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका हुन् । उत्तरपूर्वी ब्राजिलमा दुइ वटा बैंक लुटपाटको योजना बनाउँदै लुटेराहरुले पाँच जनालाई बन्धक बनाएका थिए ।

प्रहरीले लुटेरामा माथि गरेको जवाफी कारबाहीमा बन्धक बनाइएका एक नाबालकसहित पाँच जना र ६ जना अन्य व्यक्तिको मृत्यु भएको शेयरा राज्यको मिलाग्रेस शहरका नगरप्रमुख लियलसन ल्यान्डिजलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मारिने छ जना लुटेरा समूहका हुन् या प्रहरी अधिकारी हुन् भन्ने खुलाइएको छैन । तर प्रान्तीय गभर्नरका प्रवक्ताले भने घटनामा ६ जना प्रहरी अधिकृतसहित १२ जनाको मृत्यु भएको बताएका छन् । सशस्त्र लुटेराहरुले बैंकमा आक्रमण गर्न मानव ढालका रुपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र जवाफी कारबाहीमा उनीहरुको मृत्यु भएको बताइएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com