टोकियोबाट बाहिर बसाइ सर्नेलाई ३० लाख येन दिने सरकारी योजना
प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार
जापानको जन्मदर एकदमै थोरै भएपनि टोकियो शहरको छेउछाउ हिँड्दा भने यो महसुस गर्न सकिँदैन । यहाँ यति धेरै भीडभाड हुन्छ र टोकियोको जनसङ्ख्या बढ्ने क्रममा रहेका कारण हरेक वर्ष यो शहरमा भीड बढी रहेको छ । विगत २२ वर्षको अवधिमा टोकियोबाट अन्यत्र सरेर जानेको सङ्ख्याभन्दा टोकियोमा बसाइ सरेर आउनेको सङ्ख्या धेरै रहेको पाइएको छ ।
टोकियो जापानको राजधानीका साथै यहाँ शैक्षिक र व्यावसायिक अवसरमा विविधता पनि पाइने हुनाले सबैजना यतातिर बढी आकिर्षत हुने गरेका छन् । त्यस्तै अन्त कतै जन्मे हुर्केकाहरु पनि टोकियोमा राम्रो शिक्षा र जागिरका अवसरको खोजीमा आउनु नौलो होइन । र यहाँ राम्रो जागिरको अवसर पाएपछि उनीहरु यतैको भएर बस्छन् ।
यसले टोकियोमा मानिसको चाप बढाएको छ भने अन्य शहरमा भने मानिस शहर छोडेर जाने क्रमले तिव्रता पाएको छ ।
जापानको क्षेत्रिय समुदायमा आएको असमानतालाई सन्तुलित राख्न सरकारले केही उपायहरुबारे पनि सोचिरहेको छ । यसैक्रममा गत हप्ता मात्रै सरकारले नयाँ योजना ल्याउने विचार गरिरहेको बताएको छ । जसअनुसार, हाल टोकियोमा बसिरहेका नागरिकलाई नयाँ जागिर शुरु गर्न वा नयाँ कम्पनी सेट अप गर्नका लागि अन्य शहरमा बसाइ सर्नेहरुलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । हुन त उनीहरुले सहयोग रकम यति नै भनेर आधिकारीक घोषणा त गरिसकेका छैनन् तर यसरी अन्य शहरमा बसाइ सर्नेहरुलाई सरकारले ३० लाख येनसम्म आर्थिक सहयोग गर्न सक्ने देखिएको छ ।

यो आर्थिक सहयोग रकमले अन्त बसाइ सर्दा लाग्ने खर्चमा भरथेग होस् भन्ने सरकारको चाहा रहेको बताइएको छ । यो जापानीहरुका लागि धेरै रकम पनि हो । धेरैका लागि त यो एक वर्षको अग्रिम तलब भुक्तानी पनि हो । यो सहयोग पाउन टोकियोका २३ वडाहरु योग्य रहन सक्ने बताइएको छ । तर सरकारलाई ठूलो आर्थिक भार पर्ने भन्दै यस योजनाको आलोचना पनि भएको छ । यसरी आर्थिक प्रलोभन दिनुभन्दा अरु क्षेत्रका विशेषताहरुबारे जनचेतना फैलाइएको भए राम्रो हुने थियो कि भन्ने कुराहरु पनि आइरहेका छन् । तर यस योजनाबारे थप काम बाँकी नै रहेका कारण यो अर्को वर्षको शुरुआतमा मात्रै लागू हुने बताइएको छ ।






