जापानमा विदेशी नागरिकको संख्या हालसम्मकै उच्च


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

सन् २०१८ को पहिलो ६ महिनामा जापानमा विदेशी नागरिकको संख्यामा तिव्र वृद्धि भएको एक सरकारी तथ्यांकले देखाएको छ । जुनसम्ममा जापानमा विदेशी नागरिकको संख्या २ दशमलव ९ प्रतिशतले बढेर २६ लाख ३० हजारको कीर्तिमानी उचाइमा पुगेको न्याय मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । सो अवधिमा प्राविधिक इन्टर्न र नर्सिंङ केयर क्षेत्रमा विदेशी नागरिकको संख्या सबैभन्दा धेरै बढेको पाइएको छ । जापानमा विदेशी नागरिकको संख्या राष्ट्रिय जनसंख्याको करीब २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

समिक्षा अवधिमा प्राविधिक इन्टर्नको संख्या ४ प्रतिशतभन्दा बढीले बढेर २ लाख ८५ हजार ७ सय ७६ मा उक्लिएको तथ्यांकले देखाएको छ । त्यस्तै गत वर्षको नोभेम्बरमा मात्रै क्वालिफाइं पेशाका रुपमा ल्याइएको नर्सिंङ केयर क्षेत्रमा विदेशी नागरिकको संख्या वृद्धिले पनि जापानमा विदेशी नागरिको समग्र संख्या बढ्न टेवा दिएको बताइएको छ । आगामी अप्रिलमा जापान सरकारले असक्षम विदेशी कामदारलाई पनि भिसा दिने कार्य जारी राख्ने भएकाले यो संख्या थप बढ्न सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय जापानमा कामदारको चरम अभाव देखिन थालेपछि सरकारले बढीभन्दा बढी विदेशी कामदार जापान ल्याउने योजना बनाएको छ । जापानमा सबैभन्दा धेरै अर्थात ७ लाख ४१ हजार ६ सय ५६ को संख्यामा चिनियाँ नागरिक रहेको तथ्यांक छ । यो जापानमा भएका कुल विदेशी नागरिकको २८ प्रतिशत हो । त्यस्तै कोरियाली र भियतनामका नागरिकको संख्या क्रमशः ४ लाख ५२ हजार ७ सय १ र २ लाख ९१ ह्जार ४ सय ९४ रहेको तथ्यांकले देखाएको छ । जापानमा भियतनाम र नेपाली नागरिकको संख्यामा क्रमशः ११ दशमलव १ प्रतिशत र ६ दशमलव ६ प्रतिशत वृद्धि भएको पाइएको छ ।

त्यस्तै टोकियोमा सभैभन्दा बढी अर्थात कुल विदेशी नागरिकको २१ प्रतिशत जनसंख्या टाृेकियोमा बसोबास गरेको पाइएको छ भने आइचि र ओशाकामा क्रमशः साढे ९ प्रतिशत र ८ दशमलव ९ प्रतिशत विदेशी नागरिक बस्ने गरेको पाइएको छ । यसैक्रममा पहिलो ६ महीनामा जापान छिर्ने विदेशी नागकिको संख्या गत वर्षको तुलनामा १५ प्रतिशतले बढेको छ । यसमा विजनेश म्यानेजर भिसा र अन्तरराष्ट्रिय सेवा भिसामा जापान छिर्नेहरु पनि समावेश रहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com