२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

३ हजार ३७६ जनाले लिए एनआरएन भिसा, नेपाल आउने नेपाली मूलका कुल पर्यटकको संख्या अज्ञात

भिसा स्टीकर टाँस्दै नेपालको अध्यागमन विभागका कर्मचारी। फोटो: दीपेन्द्र ढुंगाना

नेपालमा गैरआवासीय नेपाली (एनआरएन) नागरिकता तथा भिसा लिनेको संख्या बढ्दै गएको छ। अध्यागमन विभागको उपलब्ध तथ्यांकअनुसार सन् २०२६ को हालसम्मसम्म मुख्य एनआरएन र आश्रित श्रेणीमा गरी कुल ३ हजार ३७६ भिसा जारी भएका छन्। यसमध्ये ३ हजार ११० मुख्य एनआरएन श्रेणीका र २६६ आश्रित श्रेणीका छन्।

मुख्य एनआरएन श्रेणीअन्तर्गत १ हजार ११२ जनाले एनआरएन नागरिकताका आधारमा भिसा लिएका छन्। त्यस्तै, १ हजार ९८१ जनाले एनआरएन कार्डका आधारमा निःशुल्क (ग्रेटिस) भिसा र १७ जनाले एमभीई/ईएटी प्रयोजनका लागि एनआरएन भिसा लिएका छन्।

आश्रित एनआरएन श्रेणीमा १३३ जनाले आश्रित भिसा लिएका छन्। त्यस्तै, १० वर्षमुनिका बालबालिकाका लागि ७२ र अमेरिकी बालबालिकाका लागि ६१ निःशुल्क आश्रित भिसा जारी भएका छन्। यसरी आश्रित श्रेणीमा कुल २६६ भिसा जारी भएका छन्। मुख्य र आश्रित दुवै श्रेणीको संख्या जोड्दा कुल भिसा जारी हुने संख्या ३ हजार ३७६ पुगेको हो।

मासिक विवरणअनुसार अक्टोबरमा सबैभन्दा बढी ३९५ एनआरएनसम्बन्धी भिसा जारी भएका छन्। जनवरीमा ३८५, अप्रिलमा ३५७, जुलाईमा ३१३ र सेप्टेम्बरमा ३०५ भिसा जारी भएका थिए।

वर्षगत तथ्यांकले पनि महामारीपछि एनआरएन श्रेणीमा दर्ता हुनेको संख्या बढ्दै गएको देखाउँछ। सन् २०२० मा यस श्रेणीमा ५०२ जना दर्ता भएका थिए। यो संख्या सन् २०२१ मा १ हजार ४०७, २०२२ मा २ हजार १८९, २०२३ मा २ हजार ३१४, २०२४ मा २ हजार ४४९ र २०२५ मा ३ हजार २५८ पुगेको थियो।

आश्रित एनआरएन श्रेणीमा पनि दर्ता हुनेको संख्या बढेको छ। सन् २०२० मा सात जना रहेको यो संख्या २०२१ मा ७५, २०२२ मा १४०, २०२३ मा १८४, २०२४ मा २१५ र २०२५ मा २०२ पुगेको थियो। सन् २०२६ को उपलब्ध अवधिमा यो संख्या २४५ पुगेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म १० लाख ८ हजार ६१६ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्। अक्टोबरमा मात्रै १ लाख ३२ हजार ८१४ पर्यटकले नेपाल भ्रमण गरेका थिए। तर, यो तथ्यांकमा नेपाली मूलका व्यक्ति कति छन् भन्ने स्पष्ट छैन। सबै नेपाली मूलका व्यक्तिसँग एनआरएन कार्ड वा एनआरएन नागरिकता नभएकाले उनीहरू अन्य विदेशी पर्यटकसरह नेपाल प्रवेश गर्दै आएका छन्।

सन् २०२५ मा नेपालमा कुल ११ लाख ५८ हजार ४५९ पर्यटक आएका थिए। सन् २०२४ मा यो संख्या ११ लाख ४७ हजार ५४८ र कोभिड महामारीअघि सन् २०१९ मा ११ लाख ९७ हजार १९१ थियो। सन् २०२६ को पहिलो १० महिनामै पर्यटक आगमन १० लाख नाघेकाले वर्षको अन्त्यसम्म अघिल्लो वर्षको कुल आगमनसँग प्रतिस्पर्धा गर्ने सम्भावना देखिएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

पर्यटक आगमनमा भारत सबैभन्दा अगाडि छ। जनवरीदेखि अक्टोबरसम्म भारतबाट १ लाख ८७ हजार १७२ पर्यटक नेपाल आएका छन्। बंगलादेशबाट ३२ हजार ३७४, श्रीलंकाबाट १९ हजार ८३ र भुटानबाट ८ हजार ४२९ पर्यटक आएका छन्। यस अवधिमा सार्क मुलुकबाट कुल २ लाख ५५ हजार ४३६ पर्यटक आएका छन्।

एसियाका अन्य मुलुकमध्ये चीनबाट ७७ हजार ५४१, मलेसियाबाट १५ हजार ११७, जापानबाट १२ हजार ६६९, दक्षिण कोरियाबाट १० हजार ९२ र थाइल्यान्डबाट ६ हजार ६७६ पर्यटक आएका छन्। यस क्षेत्रबाट कुल १ लाख ४५ हजार ९६७ पर्यटक नेपाल आएका छन्।

युरोपबाट कुल १ लाख १७ हजार ५६१ पर्यटक आएका छन्। तीमध्ये बेलायतबाट ३१ हजार १२०, जर्मनीबाट १५ हजार ६८, फ्रान्सबाट ११ हजार ३९ र रुसबाट ९ हजार ८४५ जना छन्।

ओसिनियाबाट ३२ हजार ८७७ पर्यटक आएका छन्। तीमध्ये अस्ट्रेलियाबाट ३० हजार ५० र न्युजिल्यान्डबाट २ हजार ८२७ जना आएका छन्।

अमेरिका महादेशबाट कुल ९२ हजार ३८४ पर्यटक आएको तथ्यांकमा उल्लेख छ। तीमध्ये अमेरिकाबाट ६९ हजार ३४४ र क्यानडाबाट ९ हजार ९६४ जना आएका छन्। अन्य मुलुकबाट आएका पर्यटकसमेत यस क्षेत्रको कुल संख्यामा समावेश छन्।

मध्यपूर्व र अफ्रिकाबाट पनि पर्यटक नेपाल आएका छन्। त्यसैगरी, अन्य श्रेणीमा ३२ हजार ८७६ जना दर्ता भएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।