अष्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मोरिसन चुनिए


प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार

अष्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मोरिसन चुनिएका छन् । लिबरल पार्टीले प्रधानमन्त्री मालकोम टर्नबुललाई हटाएर स्कट मोरिसनलाई नयाँ प्रधानमन्त्रीको रुपमा चुनेको हो ।

अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिद्वन्द्वी पिटर डटनलाई गोप्य मतदानमा ५ मतान्तरले पराजित गरेका हुन् ।

पार्टीका कोषाध्यक्ष मोरिसनले ४५ मत प्राप्त गर्दा पूर्व गृहमन्त्री डटनले ४० मत मात्रै प्राप्त गरे । अर्की प्रतिद्वन्द्वी जुली बिसप भने पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

अष्ट्रेलियामा सन् २००७ को निर्वाचन पछि ६ जना प्रधानमन्त्री परिवर्तन भइसकेका छन् ।

क्यानबेरामा एक साताको अशान्ति पछि डटनले पार्टीले मालकोम टर्नबुललाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने विचार व्यक्त गरेका थिए । आउँदो वर्ष मे १८ मा हुने संघिय निर्वाचन जित्ने हो भने पार्टीले सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने डटनको भनाइ थियो ।

यस्तै ऊर्जा र वातावरण मन्त्री जोश फ्रिडेनबर्ग लिबरल पार्टीको उपनेता चुनिएका छन् । फ्रिडेनबर्गले लिबरल पार्टीको उपनेताको रुपमा जुली बिसपको स्थान लिनेछन् ।

बिसपले मालकोम टर्नबुल र टोनी एबटको नेतृत्व अन्तर्गत लिबरल पार्टीको उपनेताको रुपमा काम गरेकी थिइन् ।

सन् २०१५ मा प्रधानमन्त्री भएका टर्नबुललाई लिबरल पार्टीका बहुमत सांसदहरुले नयाँ प्रधानमन्त्री छान्नुपर्ने आवेदन दिएपछि टर्नबुल हटेका हुन् । उनले संसदबाट केही समयपछि राजीनामा गर्ने पुष्टी गरेका छन् । त्यसपछि उनको वेन्टवोर्थको सिटमा उपनिर्वाचन हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com