अष्ट्रेलियावासी सुशील चालिसेद्वारा नेपालमा माझी बस्ति निर्माणको लागि सहयोग


प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार

अष्ट्रेलियावासी सुशील चालिसेले नेपालमा माझी बस्ती निर्माणको लागि पांच सय अष्ट्रेलियन डलर सहयोग गरेका छन् । उनले आफ्ना दुई छोरी चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अवसरमा श्वेता-श्री फाउन्डेसनलाई आर्थिक सहयोग गरेका हुन् ।

सुशील चालिसे साहित्यकार समेत हुन् । उनको मुक्तक संग्रह ‘गुराँसहरु पलासहरु’ अष्ट्रेलियामा केही दिन अगाडी सार्वजनिक भएको थियो । पुस्तक सार्वजनिक कार्यक्रममा उक्त पुस्तकको बिक्रि मार्फत संकलन भएको रकम समेत उनले समाजसेवामा लगाएका थिए ।

चालिसेले आफ्ना छोरीहरुको जन्मदिन पारेर हरेक वर्ष विभिन्न सामाजिक अभियान तथा संघसंथाको लागि सहयोग गर्दै आएका छन् । त्यही सामाजिक कार्यलाई निरन्तरता दिंदै उनले यसपाली माझी बस्तिको निर्माणमा जुटेको श्वेता-श्री फाउन्डेसनलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।

श्वेता श्री फाउन्डेसन अभिनेत्री श्वेता खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको सम्झनामा स्थापना गरेको सामाजिक संस्था हो । यस फाउन्डेसन मार्फत उनी ५६ परिवारका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com