१५ वर्षसम्म गुफाभित्र कैद गरेर वृद्धले गरिरहे बलात्कार, अहिले पुगिन् २८ वर्ष


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

इन्डोनेशियामा एक वृद्धले १५ वर्षसम्म युवतीलाई गुफामा कैद गरेर उनको यौन शोषण गरेको घटना सार्वजनिक भएको छ ।

पुलिसले आरोपी ८३ वर्षे वृद्धलाई पक्राउ गरेको छ । उनले १५ वर्ष अघि १३ वर्षकी बालिकालाई अपहरण गरेर गुफामा कैद गरेर राखेको बताइन्छ ।

यी वृद्ध व्यक्तिले आफूमा एक युवकको आत्मा प्रवेश गरेको दाबी गर्दै करिब १५ वर्षसम्म उनको यौन शोषण गरेको बताइन्छ ।

पुलिसका अनुसार महिलालाई गत आइतबार मध्य सुलावेसी प्रान्तको गालुम्पांग इलाकाबाट उद्दार गरिएको हो । यी महिलालाई एक गुफामा राखिएको थियो ।

पुलिसले गुफाको जुन तस्बिर सार्वजनिक गरेका छन् त्यसमा गुफाभित्र केही फर्निचर देखिएका छन् । उक्त गुफा अभियुक्तको घर नजिकै भएको पुलिसले जानकारी दिएको छ ।

तोलितोली पुलिसका प्रवक्ता एम इकबाल अलुकुदुसीका अनुसार अभियुक्तले १३ वर्षको हुँदा नै उनको बलात्कार गरिरहेका थिए । राती ती युवतीलाई आफ्नो घर ल्याउँथे तर दिउँसो भने गुफामा कैद गरेर राख्थे ।

पुलिसका अनुसार अभियुक्तले १५ वर्ष अघि पीडितलाई उनको प्रेमीको तस्बिर देखाएर उनको आत्मा आफ्नो शरिरमा प्रवेश गरेको भन्दै फकाइफुलाई गरेका थिए ।

जकार्ता पोष्टले एक स्थानीय व्यक्ति सुजेंगलाई हवाला दिँदै भने, ‘पीडितलाई ब्रेनवास गरिएको जस्तो देखिन्छ । पीडित त्यहाँबाट भाग्न नसकोस् र कसैलाई भेट्न नसकोस् भन्दै उनलाई लगातार धम्की दिए र लगातार निगारनीमा राखे ।’

पीडितको भनाई उद्धृत गदैै पुलिस प्रमुखले समाचार एजेन्सी रोयटर्सलाई सन् २००३ देखि नै ‘जिन अमरिन’ ले उनीसँग यौन सम्बन्ध स्थापित गरिरहेको जानकारी दिए ।

पीडितकी बहिनीले छिमेकीलाई उनी वरिपरि नै कतै भएको जानकारी दिएपछि यसबारे पुलिसले अनुसन्धान थाल्दा उनीबारे पत्ता लागेको बताइएको छ । पीडितकी बहिनीको विवाह अभियुक्तका छोरासँग भएको थियो  र अभियुक्तले पीडित महिला काम गर्नका लागि जकार्ता गएको भन्ने झुटो खबर दिएको उनले बताइन् ।

अभियुक्त विरुद्ध बाल सुरक्षा कानून अनुसार मुद्दा दर्ता गरिएको छ । आरोप पुष्टि भएपछि उनलाई १५ वर्षको जेल सजायँ हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com