अमेरिकामा अकालमा ज्यान गुमाउँदै नेपाली


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

-जाङ्बु शेर्पा

श्रीमान् र अढाई वर्षीय छोरासँगै अमेरिका पुगेकी रचना श्रेष्ठलाई ओक्लाहोमा राज्यको अटोका सिटीको ग्यास स्टेसन नजिकैको स्टोरमा अन्धाधुन्ध ८ राउन्ड गोली हानियो ।

११ महिना अगाडि अमेरिका पुगेकी उनी अहिले टल्सा सहरको सेन्ट फ्रान्सिस हस्पिटलमा उपचारपछि डिस्चार्ज भएर आराम तंग्रिने प्रयासमा छिन् ।

ग्यास स्टेसन नजिकैको स्टोरमा भुइँ सफा गरिरहेको बेला उनीमाथि एकाएक गोली प्रहार भएको थियो । घटनालगत्तै उनको उद्धार गरेर हेलिकप्टरमा टल्सा सहरको सेन्ट फ्रान्सिस अस्पतालमा भर्ना गरियो । यो खबर ‘शुक्रबार’ नामक साप्ताहिक अखबारमा प्रकाशित छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रचनाका श्रीमान् कपिलले सामाजिक सञ्जालमा राखेको जानकारीअनुसार उनको गाला, पिठ्यूँ, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा गोली लागेको छ । ८ मध्ये ५ गोली निकालिएको छ ।

श्रेष्ठमाथि गोली प्रहार भएको केही समयमै स्थानीय प्रहरीले १८ वर्षका जेमन्ताज हेललाई इटोकाको बडी ह्यान्डी मार्टमा नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीमाथि अहिले लुटपाट र हत्या प्रयासको अभियोग लगाएको छ ।

रचना अस्पतालको बेडमा छिन् । यसै महिना अर्का नेपाली युवा भने अस्पतालसम्म पुग्न पनि भ्याएनन् । अमेरिका भर्जिनियाको सुनोको स्टेसनमा रहेको फ्र्याङकलिन फार्म रोड हर्नडनमा कार्यरत चितवन भरतपुरका ४० वर्षीय रेशम बजगाईंको गोली हानेर हत्या गरियो ।

डिभी परेर उनकी श्रीमती तीन वर्षअघि नै अमेरिकी गएकी थिइन् । उनी छोरी लिएर नौ महिना अगाडि मात्र अमेरिका आएका थिए । उनी सुनोको स्टेसनमा रहेको फ्र्याङ्कलिन फार्म रोड हर्नडनमा क्यासियरको काम गर्थे ।

जुलाई ४ मा प्रहरीले डकैती भएको सूचना पाएर बजगाई काम गर्ने स्थानमा पुग्दा उनको शव भुइँमा लडिरहेको पाएको थियो । प्रहरीले उनको हत्या आरोपमा १९ वर्षीय मोहम्मद ए अब्दुलाहीलाई पक्राउ गरेको छ ।

२०१८ जनवरी १८ मा २३ वर्षका मनीष पाण्डे मारिएका थिए । बन्दुक बोकेर आएका दुई जना लुटेराले फुट स्टोरमा रहेका पाण्डेलाई गोली हानी हत्या गरेका थिए ।

जोखिम कम छैन
अमेरिकामा गोली चल्नु नौलो घटना हैन । विद्यालय र सार्वजनिक स्थानहरुमा मास सुटिङ भई नै रहन्छ । सन् २०१८ मा मात्र मास सुटिङका क्रममा ४० जनाको ज्यान गइसकेको छ ।

वासिङ्टन पोस्टका अनुसार १९६६ अगस्ट १ देखि सन् २०१८ सम्ममा अमेरिकामा १ सय ५८ वटा मास सुटिङका घटना भइसकेका छन् । यस्ता घटनामा १ हजार १ सय २ जनाको ज्यान गएको छ । जसमा गर्भावस्थाकादेखि ९८ वर्षका वृद्धासम्म छन् ।

पैसाको कारोबार हुने ग्यास स्टेसन र स्टोरमा लुटपाटको उद्देश्यले आक्रमण भइनैरहन्छ । अमेरिकामा अधिकांश नेपालीले प्रत्यक्ष पैसाको कारोबार हुने यस्तै ग्यास स्टेसन र स्टोरमा भएको आक्रमणमा ज्यान गुमाउने गरेका छन् ।

अमेरिकामा लगभग तीन लाख नेपाली छन् । प्रायः हरेक वर्ष लुटेराको आक्रमणमा नेपालीले ज्यान गुमाइरहेका छन् तर यस्तो घटनामा अहिलेसम्म कति नेपालीले ज्यान गुमाइसके भन्ने एकीकृत र यकिन तथ्यांक भेट्न मुस्किल छ ।

सन् २००४ देखि २०१८ सम्ममा लुटेराहरुको आक्रमणबाट १४ नेपालीको ज्यान गइसकेको छ । यस्ता घटना अधिकांश ग्यास स्टेसन र फुड स्टोरमा भएका छन् । कार दुर्घटनामा मारिने नेपालीको संख्या पनि उत्तिकै छ ।

सन् २००९ को डिसेम्वर २६ मा अमेरिकाको वोस्टनमा सुरेन्द्र डंगोललाई लुटेराले खाद्य स्टोरमा नै गोली हानेर हत्या गरे । एक पाकिस्तानी नागरिकसँग मिलेर व्यवासाय सुरु गरेको केही हप्तामा नै उनी मारिएका थिए ।

सन २००९ को सेप्टेम्बर ३० मा अमेरिकाको दक्षिण क्यारोलिनामा मारिएका रवीन्द्र शर्माको पनि स्टोरमा कार्यरत अवस्थामा नै हत्या भएको थियो ।

राति दश बजे स्टोर प्रवेश गरेका एक सशस्त्र लुटेराले शर्मासहित एक मेक्सिकोबासी कामदारलाई हत्या गरेका थिए । ४० वर्षीय शर्माले तीन महिनाअघि मात्र कृष्ण कँडेलसँग मिलेर स्टोरको व्यवस्थापन गर्दै आएका थिए ।

सन २००९ जनवरी ६ मा अमेरिकाको टेक्ससमा जसबहादुर राई मारिए । उनलाई पनि लुटेराले नै हत्या गरेका थिए ।

बिहानीको समयमा स्टोर प्रवेश गरेका लुटेराले राईमाथि पटक–पटक छुरा प्रहार गरेका थिए । सख्त घाइते राईको जोन पिटर हस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सन २००८ को अक्टोबर ९ मा टेक्ससमा नेपाली नागरिक अशोक भट्टराई मारिए । उनी विद्यार्थी थिए ।

टेक्सासको ह्युस्टन सहरमा खाद्य स्टोरमा रात्रिकालीन समयमा काम गरिरहेका अशोकलाई १७ वर्षीय रेमन्ड रिचले गोली हानेर मारेका थिए । हत्यासँगै रिचले स्टोरबाट पाँच हजार डलरसमेत लुटेका थिए ।

हत्याको श्रृङ्खलालाई आँकलन गने हो भने अमेरिकामा अधिकांश नेपालीको हत्या टेक्ससमा हुने गरेको छ । अन्य राज्यमा पनि हत्या नभएका हैनन् तर टेक्ससमा यसको संख्या धेरै छ ।

सन् २००७ को अगस्टमा जर्जियामा विनोद श्रेष्ठ मारिएका थिए । उनी पनि खाद्य स्टोरमा काम गर्थे । उनलाई गोली हानिएको थियो । सन् २००७ को अगस्टमा बाल्टिमोरमा हिमांक कार्की, सन् २०११ को अगस्टमा रोशन भण्डारी, सन् २००५ को जुन १४ मा नै टेक्सस राज्यमा समीरा शिवाकाटीको हत्या भएको थियो ।

गोली प्रहारपश्चात् अधिकांशको ज्यान जाने गरे पनि केही भाग्यमानी पनि छन्, जो बाँचे । हलोविन चाडको साँझ आफ्नी प्रेमिकालाई अपार्टमेन्टको लाउन्ड्रीमा कुरेर बसेका बेला जाउला कार्कीलाई एक सशस्त्र लुटेराले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । उनी बाँचे ।

टेक्ससको स्टोरमा काम गर्ने रोशन श्रेष्ठ ग्यास स्टेसन र खाद्य स्टोरमा काम गर्नु जोखिमपूर्ण रहेको बताउँछन् । काउन्टरमा नगद हुने स्थानमा प्रायः लुटेराले आक्रमण गर्ने गरेको उनले बताए ।

‘रिक्स छ तर अर्को अप्सन हुन्न,’ उनले भने, ‘जोखिमै मोलेर भए पनि काम गर्नु परिहाल्यो !’

अर्का नेपाली देवेन्द्र देवकोटा फ्रिवेको स्टोरमा काम गर्न झन् गाह्रो हुने गरेको बताउँछन् । सुनसान स्थान भएकाले भनेको बेलामा प्रहरीसमेत आइनपुग्ने अनुभव सुनाउँदै उनले भने, ‘प्रायः यस्ता घटनामा अफ्रिकी मूलका संलग्न देखिन्छन् । त्यसैले अफ्रिकी मूलका ग्राहक आउँदा झन् डर हुन्छ ।’

बियरको बहानामा हत्या

हत्याको कारण त्यत्ति ठूलो देखिन्न । एक बोतल बियर लिनसमेत हत्या हुने गरेको देखिन्छ । केहीले पैसाका लागि आक्रमण गर्छन् तर पैसा त्यत्ति धेरै हुन्न ।

अमेरिकाको सिकागो, न्युयोर्क, न्युजर्सी, बाल्टिमोर, डेलवेर, एटलान्टा, टेक्सस, कोलम्बिया, साउथ क्यारोलिना, ओक्लाहामा, फिलाडेल्फियाजस्ता राज्य र सहरहरुमा ग्यास स्टेसनको काम जोखिमपूर्ण मानिन्छ । यी सहरमा काम गर्दा बुलेटप्रुफ सिसाभित्र बस्ने गरिन्छ ।

तर सबै स्थानमा यस्तो सुविधा नहुन पनि सक्छ । ग्यास स्टेसनमा २४ सै घन्टा क्लोज सर्किट टेलिभिजन क्यामरासमेत जडान गरिएका हुन्छन् । तापनि लुट्ने क्रम रोकिएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com