५५ प्रतिशत नेपाली विद्यार्थी अष्ट्रेलियामा,वार्षिक ६५ अर्ब बाहिरिदै


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

पछिल्लो केही वर्ष यता अष्ट्रेलिया वैदेशिक अध्ययनमा जाने विद्यार्थीको प्रमुख गन्तव्य बनेको छ । अध्ययनकै लागि भनेर विदेश जाने विद्यार्थीमध्ये करिब ५५ प्रतिशत विद्यार्थी अष्ट्रेलियामा जाने गरेका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा मात्रै नेपालबाट ३२ हजार २ सय १२ जना विद्यार्थी अष्ट्रेलियाका विभिन्न राज्यमा अध्ययन भिसामा गएका छन् । रयो संख्या नो अब्जेक्सन लेटर लिएर विदेश अध्ययनका लागि जाने विद्यार्थीमध्ये ५४ दशमलव ८२ प्रतिशत हो ।

अष्ट्रेलियाको शिक्षा सस्तो भएर त्यहाँ जाने विद्यार्थीको संख्या बढी भएको होइन । बरु पछिल्लो दिनमा अष्ट्रेलियामा भोकेसनल एजुकेसन दिने इन्स्टिच्युटहरूको संख्यामा वृद्धि हुनु तथा अन्य देशमा भन्दा रोजगारीको सम्भावना पनि बढी हुने भएकाले अष्ट्रेलियाप्रति नेपाली विद्यार्थीहरुको आकर्षण बढेको हो ।

कतिपय विद्यार्थीहरू डिपेन्डेन्ट भिसामा अर्को व्यक्तिलाई लैजान पाउने भएकाले पनि उनीहरूको पहिलो गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ ।

अहिले अष्ट्रेलियामा अध्ययन गर्न कोर्स हेरि १५ लाखदेखि ३५ लाख नेपाली रुपियाँसम्म तिर्नुपर्छ । अष्ट्रेलियामा अध्ययन हुने विषय र त्यसबापत लाग्ने शुल्कलाई सरदरमा निकाल्ने हो भने करिब २० लाख प्रतिविषय हुन आउँछ । गत आर्थिक वर्षको मात्रै तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७४÷७५ मा अष्ट्रेलिया पढ्न जाने ३२ हजार २ सय १२ जना नेपाली विद्यार्थीहरूले त्यहाँको कलेजलाई ६४ अर्ब ४२ करोड रुपियाँ बुझाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com