५ नम्बर प्रदेश : प्रमुखकाे भाेलि १० बजे पदभार, ११ बजे सांसदहरुको शपथ,कहाँ हुँदैछ त सपथ ?


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

विष्णुप्रसाद घिमिरे । पाँच नम्वर प्रदेशमा पनि प्रदेश सांसादको पद तथा गोपनियताको शपथ ग्रहण्को सम्पूर्ण कार्य सम्पन्न भएको छ । प्रदेशको अस्थायी राजधानी बुटवलस्थित रुपन्देही व्यापार संघको भवनमा प्रदेश प्रमुखको कार्यालय र सचिवालय रहने गरी व्यवस्था मिलाइएको छ । जहाँ प्रदेश प्रमुख उमाकान्त झाले आइतवार विहान १० बजे पदभार ग्रहण गर्ने छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले प्रदेश प्रमुखको कार्यालय तथा सचिवालयका लागि व्यापार संघको सचिवालय रहेको स्थानमा आवश्यक तयारी भइरहेको बताए । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सुरेश ठाकुरले प्रदेश सांसदहरुका लागि बुटवल उद्योग वाणिज्य संघको सभाहलमा तयारी थालिएको बताए । व्यापार संघ र वाणिज्य संघका भवनमा आवश्यक फर्निचरको व्यवस्था गर्नेदेखि सरसफाइको कामलाई शनिवार विहानैदेखि काम तीव्र पारिएको थियो ।

तत्कालका लागि प्रदेश प्रमुखको सचिवाल तथा कार्यालय र प्रदेश सदस्यको शपथ गर्न आवश्यक तयारी गरिने र थप कामलाई त्यसपछि पनि गर्दै लगिने सरकारी अधिकारीहरुले जनाए । शनिवार विहानैदेखि रुपन्देहीका प्रजिअ मैनाली, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवाली, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका प्रमुख ठाकुर, सशस्त्र प्रहरी तथा नेपाली सेनाका अधिकृतहरुसहितको टोलीले दुवै भवन अवलोकन गर्नुका साथै आवश्यक तयारीमा जुटेका थिए ।

सवारी पार्किङ क्षेत्रदेखि साउण्ड सिष्टमसम्मका काममा ध्यान दिनुका साथै उनीहरुले दुवै संस्थाका पदाधिकारीहरुसँग पनि आवश्यक छलफल गरे । उवासंघका वरिष्ठ उपाध्याक्ष उज्जव कसजुले तत्काल भवन तथा सभाहल उपलब्ध गराइएको भन्दै भाडाका बारेमा कुनै सहमति नभएको बताए । त्यस्तै रुपन्देही व्यापार संघका नवनिर्वाचित अध्यक्ष पदम श्रेष्ठ तथा निवर्तमान अध्यक्ष मोतिलाल पाण्डेले पनि भवन उपलब्ध गराउँदा आफूहरुलाई खुसी लागेको भन्दै भाडालगायतका विषयमा आगामी दिनमा टुंगो लाग्ने विश्वास व्यक्त गरे । रुपन्देहीका प्रजिअ मैनालीका अनुसार प्रदेश सभाका सदस्यहरुलाई सपथका लागि समवन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत खबर गरिएको बताए ।

मन्त्रालय तथा निवासबारे कस्तो छ तयारी ?

प्रदेश प्रमुख उमाकान्त झा शनिवार साँझ बुटवल आएपछि सडक विभागको गेष्ट हाउसमा अस्थायी बसोबास मिलाइएको छ । विगतमा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधारको अवस्थादेखि राजधानीका लागि बुटवल उपयुक्त छ की छैन ? भन्नका लागि अध्यान गर्न आएको टोलीले दिएको प्रतिवेदनका आधारमा नै थप तयारी थालिने भएको छ । क्षेत्रीय प्रशासक संयोजक रहेको अध्ययन टोलीले त्यतिवेला विभिन्न विषयमा अध्यान गरेको थियो ।

अध्यानका लागि क्षेत्रीय सह प्रशासक बाबुराम गौतमको नेतृत्वको टोलीले रुपन्देहीका विभिन्न स्थानका भौतिक संरचनादेखि विभिन्न पक्षका बारे अध्यान गरेको थियो । सो टोलीले प्रदेश प्रमुखको सचिवालय इलाका वन कार्यालय र निवासका लागि सीप विकास केन्द्र बुटवल प्रस्ताव गरेको थियो । इलाका वन कार्यालयमा मर्मत सम्भार गर्नुपर्ने देखिएकाले व्यापार संघको भवनलाई छनोट गरिएको प्रजिअ मैनालीले बताए ।

उनले भने,‘निवासका लागि सिप विकास केन्द्रलाई नै उपयुक्त ठानिएको छ । तर, अन्तिम टुंगो लागेको छैन । प्रदेश प्रमुखले हेरेपछि मात्रै टुंगो लाग्छ ।’ प्रजिअ मैनालीले अघि भने,‘मन्त्रालयहरुका अन्य भवनहरुमा श्रम कार्यालयको भवन, राजश्व अनुसन्धान कार्यालय, यातायात व्यवस्था कार्यालयको भवन, इलाका प्रशासन कार्यालयको भवन, नापतौल तथा गुणस्तर कार्यालयको भवनलगायतका भवनका बारेमा छलफल तथा अध्यान भइरहेको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com