अमेरिकाको वायोमिङमा शिख ट्रक चालकमाथि छुरा प्रहार: समुदायमा त्रास र चिन्ता
Photo: Giulia Lorenzon/Unsplash
अमेरिकाको वायोमिङस्थित एउटा दुर्गम विश्रामस्थलमा एक शिख ट्रक चालकमाथि भएको साङ्घातिक छुरा प्रहारपछि अमेरिकामा रहेका शिख समुदाय सशङ्कित र त्रसित बनेका छन्। पछिल्लो समय अमेरिकामा आप्रवासी र विशेषगरी शिख ट्रक चालकहरूविरुद्ध बढ्दो घृणास्पद अभिव्यक्तिका बीच यो घटना घटेको हो।
अदालती कागजात अनुसार, मङ्गलबार बिहान चेयेने र साल्ट लेक सिटीको बीचमा पर्ने इन्टरस्टेट-८० को बिटर क्रिक रेस्ट स्टपको शौचालयमा ती शिख चालकमाथि पछाडिबाट आक्रमण भएको थियो। उनको घाँटी र छातीमा गहिरो चोट लाग्नुका साथै शरीरका अन्य एक दर्जनभन्दा बढी ठाउँमा काटिएको छ। गम्भीर घाइते भएका उनको उपचारपछि ज्यान जोगिएको छ र उनी उपचारपछि घर फर्किएका छन्।
प्रहरीले आक्रमणको स्पष्ट कारण वा मनसाय अझै खुल्न नसकेको बताएको छ। तर, हालैका महिनाहरूमा शिख चालकहरू संलग्न भएका केही भयानक सडक दुर्घटनाहरूपछि व्यापारिक ड्राइभिङ लाइसेन्ससम्बन्धी विवाद चर्किएको र त्यसले सिङ्गो शिख समुदायप्रति नै घृणा फैलाएको समुदायका नेताहरूले बताएका छन्।
ट्रकिङ उद्योगका व्यवसायी एवं गिलसन ट्रकिङका सीईओ हरसिमरन सिंहका अनुसार विशेष गरी अनलाइन ट्रकिङ फोरमहरूमा शिखविरोधी भावना तीव्र रूपमा बढेको छ। “म विगत २५ वर्षभन्दा बढी समयदेखि यहाँ छु, तर मैले यस्तो घृणा पहिले कहिल्यै अनुभव गरेको थिइनँ,” सिंहले भने।
प्रहरीले घटनालगत्तै कार्बन काउन्टीबाट एन्ड्र्यु क्रिस बज्दाक नाम गरेका संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। रेस्ट स्टपमा रहेका एक परिवारले आक्रमणको आवाज सुनेपछि संदिग्धको ट्रकलाई पछ्याउँदै प्रहरीलाई खबर गरेका थिए। हाल बज्दाकलाई ज्यान मार्ने उद्योगको अभियोगमा १० लाख डलरको धरौटीमा हिरासतमा राखिएको छ।
अमेरिकामा करिब ७ लाख ५० हजारको सङ्ख्यामा शिखहरू बसोबास गर्छन्, जसमध्ये ठूलो सङ्ख्या क्यालिफोर्नियामा छ। एक अनुमान अनुसार अमेरिकामा कम्तीमा १ लाख ५० हजार शिखहरू ट्रक चालकका रूपमा कार्यरत छन्।
सम्बद्ध क्षेत्रका अगुवाहरूका अनुसार आक्रमणको मुख्य कारण जे भए पनि यसलाई शिख समुदायप्रतिको जातीय घृणा र नस्लवादभन्दा अलग गरेर हेर्न सकिँदैन।





