अमेरिकामा ग्यास विस्फोट हुँदा बालकसहित तीन जनाको मृत्यु


प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार

अमेरिकामा भएको प्राकृतिक ग्यास विस्फोटमा परेर एक बालकसहित तीन जनाको मृत्यु भएको छ। टेक्सास राज्यको डलास सहरस्थित ओक क्लिफ क्षेत्रमा प्राकृतिक ग्यास विस्फोटपछि एक आवासीय भवन पूर्ण रूपमा ध्वस्त हुँदा यो क्षति भएको हो। घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

अधिकारीहरूले चार जनालाई अस्पताल भर्ना गरिएको पुष्टि गरेका छन्। तीमध्ये तीन जनालाई एम्बुलेन्समार्फत लगिएको थियो भने अन्य दुई जना आफैँ उपचारका लागि अस्पताल पुगेका थिए। घटनामा घाइते तथा मृत्यु भएकाहरूको पहिचान अझै सार्वजनिक गरिएको छैन।

डलास फायर–रेस्क्युका अनुसार मृत्यु हुनेमा दुई वयस्क महिला र एक बालक रहेका छन्। उद्धार टोलीले भग्नावशेष हटाउने तथा हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ। खोजीका लागि ड्रोनसमेत प्रयोग गरिएको छ।

उक्त भवनमा २३ जना बस्दै आएका थिए। अधिकारीहरूले हालसम्म १२ जना सुरक्षित रहेको पुष्टि गरे पनि अझै कति व्यक्ति सम्पर्कविहीन छन् भन्ने यकिन हुन सकेको छैन।

डलास फायर–रेस्क्युका अनुसार सुरुमा ग्यास चुहावट भएको सूचना प्राप्त भएको थियो। घटनास्थलमा उद्धार टोली पुग्दा आगलागी सुरु भइसकेको थियो।

अधिकारीहरूले प्राकृतिक ग्यास विस्फोटकै कारण आगलागी भएको पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले पनि घटनाको अनुसन्धान गर्न विशेष टोली डलास पठाउने घोषणा गरेको छ।

प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा निर्माणसम्बन्धी काम भइरहेको थियो। भवनमा काम गरिरहेका ठेकेदारले ग्यास पाइपलाइनमा क्षति पुर्‍याएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन्।

त्यहाँ कस्तो प्रकारको काम भइरहेको थियो भन्ने स्पष्ट नभए पनि डलास सहर प्रशासनले उक्त क्षेत्रमा नगरपालिकाको कुनै काम नभइरहेको जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनास्थल नजिकै बस्ने प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र लगत्तै भवन ध्वस्त भएको बताएका छन्।

डलास फायर–रेस्क्युका अनुसार घटनास्थलमा ११५ जना अग्निनियन्त्रक परिचालन गरिएको थियो। सहरी खोज तथा उद्धार टोलीले भग्नावशेष हटाएर हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com