सिन्सिनाटीबाट डीसी प्रस्थान गरेको केही घण्टामै अमेरिकी उपराष्ट्रपति भान्सको घरमा तोडफोड
प्रकाशित मिति : पुस २०, २०८२ सोमबार
अमेरिकी उपराष्ट्रपति भान्सको परिवार
अमेरिकाको ओहायो राज्यस्थित सिन्सिनाटीमा उपराष्ट्रपति जे.डी. भान्सको घरमा तोडफोड भएको घटनामा संलग्न आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ। अमेरिकी सेक्रेट सर्भिसका प्रवक्ताले घटनाको पुष्टि गरेका छन्।
यूएस सेक्रेट सर्भिसका अनुसार उपराष्ट्रपतिसँग सम्बन्धित व्यक्तिगत आवासको बाहिरी भागमा झ्याल फुटाउनेलगायत सम्पत्तिमा क्षति पुर्याएको आरोपमा एक वयस्क पुरुषलाई नियन्त्रणमा लिइएपछि सिन्सिनाटी प्रहरी विभागको जिम्मा लगाइएको हो। ती व्यक्तिलाई मध्यरातपछि हिरासतमा लिइएको बताइएको छ।
घटनाका बेला भान्स परिवार वासिङ्टन डी.सी.मा रहेको भान्सका प्रेस सचिवले जानकारी दिएका छन्। स्रोतहरूका अनुसार घटना हुनुभन्दा केही घण्टा अघि मात्रै भान्स परिवार सिन्सिनाटीबाट डी.सी.तर्फ प्रस्थान गरेको थियो।
अमेरिकी सेक्रेट सर्भिसका स्रोतहरूका अनुसार शंकास्पद व्यक्ति हथौडासहित सशस्त्र थिए। उनले घरका सिसा फुटाउनुका साथै सेक्रेट सर्भिसको सवारीसाधनमा प्रहार गर्ने र अन्य सम्पत्तिमा तोडफोड गरेका थिए। हाल उनीमाथि स्थानीय तहका आरोपमा अनुसन्धान भइरहेको छ। यसअघि ती व्यक्तिलाई सम्भावित सुरक्षा जोखिमका रूपमा पहिचान गरिएको थिएन।
यूएस सेक्रेट सर्भिसले सिन्सिनाटी प्रहरी विभाग र अमेरिकी सरकारी वकिलको कार्यालयसँग समन्वय गरी आरोप लगाउने प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ। हालसम्म शंकास्पद व्यक्तिको पहिचान र उद्देश्य सार्वजनिक गरिएको छैन।
घटनापछि उपराष्ट्रपति भान्सले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै उद्धार तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो घरमा जबर्जस्ती प्रवेशको प्रयास भएको उल्लेख गर्दै सेक्रेट सर्भिस र सिन्सिनाटी प्रहरीको छिटो प्रतिक्रियाको प्रशंसा गरेका छन्।





