‘चिकित्सकको सल्लाहभन्दा बढी एस्पिरिन सेवन गर्छन् ट्रम्प, दिक्क लाग्ने भएकोले गर्दैनन् व्यायाम’


प्रकाशित मिति : पुस १७, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू “पूर्ण रूपमा स्वस्थ” रहेको दाबी गरेका छन्। हालै ‘द वाल स्ट्रिट जर्नल’लाई दिएको विस्तृत अन्तर्वार्तामा उनले डाक्टरहरूले सिफारिस गरेभन्दा बढी मात्रा एस्पिरिन लिँदै आएको समेत खुलाशा गरे ।

उनले हातमा देखिने निलडाम लुकाउन मेकअप प्रयोग गर्ने गरेको समेत बताउँदै आफूलाई दिक्कलाग्ने भएकोले नियमित व्यायाम नगरेको बताए ।

७९ वर्षका ट्रम्प अमेरिकी इतिहासमा पदभार ग्रहण गर्ने सबैभन्दा वृद्ध राष्ट्रपति हुन्। उनको उमेर र स्वास्थ्य अवस्थाबारे पछिल्लो समय सार्वजनिक चासो बढ्दै गएको छ। तर, उनले आफूलाई सुन्न समस्या भएको वा ह्वाइट हाउसका कार्यक्रममा निदाएको भन्ने आरोप अस्वीकार गरेका छन्।

ट्रम्पले अक्टोबरमा वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणबारे पनि स्पष्ट पारे। यसअघि एमआरआई स्क्यान भएको बताएका उनले पछि त्यो सीटी स्क्यान भएको स्वीकारे। उनका चिकित्सक नेभी क्याप्टेन सीन बार्बाबेलाका अनुसार सीटी स्क्यान “कुनै पनि हृदयसम्बन्धी समस्या नभएको सुनिश्चित गर्न” गरिएको थियो र परीक्षणमा कुनै असामान्यता देखिएको थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्वार्तामा ट्रम्पले विगत २५ वर्षदेखि दिनमा ३२५ मिलिग्राम एस्पिरिन लिँदै आएको बताए। डाक्टरहरूले कम मात्रा लिन सुझाव दिए पनि लामो समयदेखिको बानी परिवर्तन गर्न नचाहेको उनले उल्लेख गरे । यद्यपि, उमेरसँगै एस्पिरिनका कारण रक्तस्रावको जोखिम बढ्न सक्ने चिकित्सकले चेतावनी समेत दिँदै आएका छन् ।

ट्रम्पलाई उमेरसँगै देखिने सामान्य समस्या ‘क्रोनिक भेनस इन्सफिसेन्सी’ देखिएपछि कम्प्रेसन मोजा लगाउन सल्लाह दिइएको थियो । तर, उनले त्यसलाई अस्वीकार गरे। अहिले भने डेस्कबाट बारम्बार उठेर हिँड्ने गरेकाले खुट्टाको सुन्निने समस्या कम भएको उनले बताए।

नियमित व्यायामबारे प्रश्न गर्दा ट्रम्पले गोल्फ खेल्नुबाहेक अरू कुनै व्यायाम नगर्ने स्पष्ट पारे। “ट्रेडमिलमा घण्टौँ हिँड्नु वा दौडिनु मेरो लागि होइन,” उनले भने।

हातमा देखिने निलडामबारे उनले हात ठोक्किँदा देखिन सक्ने दाग लुकाउन सजिलै लगाउन मिल्ने मेकअप बोक्ने गरेको बताए। साथै, सार्वजनिक कार्यक्रममा आँखा बन्द गरेको देखिए पनि आफू निदाएको नभई “आरामका लागि” आँखा बन्द गर्ने गरेको उनको दाबी छ।

ट्रम्पका चिकित्सक बार्बाबेलाले विज्ञप्तिमार्फत राष्ट्रपति “असाधारण रूपमा स्वस्थ” रहेको र कमाण्डर इन चिफका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा सक्षम रहेको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com