ट्रम्प प्रशासनद्वारा गरिएको आप्रवासन रेडको देशव्यापी असर, राज्यहरुमा प्रदर्शन बढ्दै


प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

फोटो : रासस

अमेरिकाभरि आप्रवासन रेडको विरोधमा प्रदर्शनहरू तीव्र भएका छन । प्रदर्शनमा सहभागिता जनाएको भन्दै सयौंलाई पक्राउ गरिएको छ । अमेरिका भरि आप्रवासन रेडहरूको विरोधमा प्रदर्शनहरू तीव्र हुँदै गएका देखिएको हो । यी विरोधहरू स्वतःस्फूर्त रूपमा केही स्थानमा सुरु भएका छन् ।

केहि स्थानमा योजना बनाएर प्रदर्शन गरिएका हुन्। अझ प्रदर्शनहरू बढ्ने अनुमान गरिएको छ। हालसम्म अधिकांश प्रदर्शनहरू शान्तिपूर्ण भए पनि कतिपय स्थानमा हिंसात्मक घटना भएका छन् । गाडीहरूमा आगजनी, प्रहरीमाथि ढुंगा तथा बोतल प्रहारजस्ता घटनाहरू सार्वजनिक भएका छन्।

लस एन्जलसमा ५ दिनदेखि जारी प्रदर्शनपश्चात राष्ट्रपति डोनाल्ड ट्रम्पले नेशनल गार्ड र मरीन परिचालन गर्नुपरेको छ । ३८० जना भन्दा बढी पक्राउ परेका छन ।
न्यूयोर्क सिटीको संघीय आप्रवासन मुख्यालय अगाडि प्रत्येक दिन विरोध प्रदर्शन भइरहेका छन । त्यहाँबाट ११५ प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

शिकागोमा हजारौंले सहरको केन्द्र हुँदै मार्च गरेका छन । त्यहाँबाट पनि १७ जना लाई पक्राउ गरिएको छ । फिलाडेल्फिया सहरको केन्द्रमा १०० भन्दा बढी प्रदर्शनकारी जम्मा भएर विरोध प्रदर्शन गरेका छन । प्रहरीसँग झडपपछि १५ जना पक्राउ परेका छन ।

डालासमा पनि प्रदर्शन भएको छ । त्यहाँ सोमबार राति मार्चलाई अवैध सभा घोषणा गरिएको छ । १ जना पक्राउ परेका छन ।

अटलान्टा बुफर्ड हाईवेमा भएको प्रदर्शनमा १ हजार भन्दा बढी सहभागी भएका छन । प्रहरीद्वारा भीड तितरबितर गर्न रासायनिक ग्यास प्रयोग गर्नु परेको थियो । त्यहाँबाट ६ जनालाई पक्राउ गरिएको छ ।

अस्टिनमा राज्य संसद भवन अगाडि सयौं प्रदर्शनकारी भएका थिए । प्रहरीले टियर ग्यास प्रहार गर्दै भीड तितरबितर पारेको थियो । ओमाहा मासु प्रसोधन कारखानामा आप्रवासन रेडपछि प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा ७० जना पक्राउ परेका छन । स्थानीय बासिन्दाले कारखानाबाहिर आएर विरोधमा उत्रिएका थिए ।

सिएटलको संघीय भवन अगाडि प्रदर्शन भएको छ । सेंट लुइसमा २०० भन्दा बढी मानिसले सहरका सडकमा नाराबाजी गर्दै मार्च गरेका थिए । दिउँसो चिडियाखानाको नजिक ओभरपासमा प्रदर्शन भएको थियो । नर्थ क्यारोलाइना मा र्याली निकालिएको छ ।

अधिकांश प्रदर्शनमा प्रहरीले कर्फ्यु उल्लंघन, सार्वजनिक अवरोध, र अशान्ति फैलाउने अभियोग लगाउँदै सयौंलाई पक्राउ गरेको छ । कतिपय स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप, हिंसात्मक भिडन्त, र रासायनिक ग्यासको प्रयोग भएको पुष्टि भएको छ।

राष्ट्रपति ट्रम्पको प्रशासनद्वारा गरिएको आप्रवासन रेडको देशव्यापी असर देखिँदैछ । केही गभर्नरहरू र सहरका मेयरहरूले यसलाई ूस्थानीय स्वायत्ततामाथिको हमलाू पनि भनेका छन्।

यी प्रदर्शनहरू केवल आप्रवासन विरोधमा मात्र होइन, संविधान, मानव अधिकार र संघीय हस्तक्षेप विरुद्धको आवाज बन्दै गएका छन् । प्रदर्शनहरू अझ फैलिने अनुमान गरिएको छ । यसले अमेरिकी राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने सम्भावना पनि बलियो बनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com