४७औं राष्ट्रपति रूपमा ट्रम्पको शपथ ग्रहण, ट्रम्पका आगामी योजना कस्ता छन्?
प्रकाशित मिति : माघ ७, २०८१ सोमबार
डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपति रूपमा शपथ लिएका छन् । राष्ट्रको राजधानीमा अत्यधिक चिसो तापक्रम पूर्वानुमान गरिएकोले हलभित्र आयोजना गरिएको पदस्थापन समारोहमा ट्रम्पले अब्राहम लिंकनले प्रयोग गरेको बाइबल प्रयोग गरेर सपथग्रहण गरेका हुन् । लिंकनले १८६१ मा आफ्नो शपथ ग्रहण समारोहमा यही बाइबल प्रयोग गरेका थिए।
ट्रम्पले पदको शपथ लिँदा आफ्नो व्यक्तिगत बाइबल पनि प्रयोग गरेका छन् । दुबै बाइबल ट्रम्पले २०१७ मा आफ्नो पदस्थापन समारोहमा प्रयोग गरेका थिए। क्यापिटल रोटुन्डामा प्रधान न्यायाधीश जोन रोबर्ट्सबाट ट्रम्पले शपथ लिएका छन् ।
पूर्व राष्ट्रपति बराक ओबामाले आफ्नो दुवै पदस्थापन समारोहमा लिंकन बाइबल प्रयोग गरेका थिए। नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्सले आफ्नी हजुरआमाका पालाको पारिवारिक बाइबल प्रयोग गरेर पदको शपथ लिएका छन् ।

जो बाइडेनसँगै पूर्व राष्ट्रपतिहरु बराक ओबामा, जर्ज डब्लु बुश र बिल क्लिन्टन सबै ट्रम्पको पदस्थापन समारोहमा उपस्थित भएका थिए । मिशेल ओबामा भने समारोहमा उपस्थित भइनन् ।
योसँगै अमेरिकामा ट्रम्पको दोश्रो कार्यकालको औपचारिक सुरुवात भएको छ । ट्रम्पले लगभग निश्चित रूपमा कडा सिमानानियन्त्रण लागू गर्नेछन् र थप कागजातविहीन आप्रवासीहरूलाई देशबाट निष्कासन गर्न सुरु गर्नेछन्। ट्रम्प प्रशासनले भोलिदेखि नै शिकागोमा आप्रवासन धरपकड सुरु गर्न सक्ने अनुमान गरिएको छ।
ट्रम्पले निष्कासनलाई कति टाढासम्म लैजानेछन् भन्ने प्रष्ट छैन । के हालसालै अमेरिका प्रवेश गरेका, देश छोड्ने आदेश पाइसकेका वा आपराधिक आरोप लागेकाहरूलाई मात्र लक्षित गर्नेछन् वा वर्षौंदेखि स्थिर जीवन बिताइरहेका आप्रवासीहरूलाई पनि देशनिकाला गर्नेछन् भन्ने प्रष्ट छैन ।
ट्रम्पले अमेरिकामा प्रवेश गर्ने कुनै पनि वस्तुमा २० प्रतिशतसम्म ट्यारिफ लगाउने वाचा गरेका थिए र उनले चाँडै केही करहरू लागू गर्ने सम्भावना छ। विदेशी सामान महँगो बनाएर उनले अमेरिकी कम्पनीहरूलाई फाइदा पुर्याउने प्रयास गर्नेछन्, यद्यपि उपभोक्ताको लागि मूल्य वृद्धि हुन सक्छ। कर सबै सामानमा लागू हुनेछ वा केवल विशेष वस्तु वा विशेष देशलाई लक्षित गरिनेछ भन्ने प्रष्ट छैन ।
चीन नीति सम्बन्धमा ट्रम्प प्रशासनभित्र विभिन्न धारणा छन्। मार्को रुबियो जस्ता केही सल्लाहकारहरू मार्को रुबियो चीनलाई अमेरिकाको प्रतिस्पर्धी शक्तिको रूपमा हेर्छन्, भने एलन मस्क चीनलाई ठुलो बजारको रूपमा हेर्छन्। ट्रम्पले बारम्बार चीनको आलोचना गरे पनि उनी राष्ट्रपति सी जिनपिङको नेतृत्वशैलीको प्रशंसा गर्छन्।
ट्रम्पको चीन नीति टिकटकबारे निकै अनिश्चित देखिन्छ । अमेरिकी सर्वोच्च अदालतले हालै चीनको स्वामित्वमा रहेको टिकटकलाई बेच्न वा बन्द गर्नुपर्ने फैसला सुनाएको छ। ट्रम्पले यसलाई ९० दिनसम्म कार्यान्वयन नगर्ने बताएका छन्।
ट्रम्पले बुझेका छन् कि गर्भपतन प्रतिबन्धले रिपब्लिकन पार्टीलाई चुनावी घाटा पुर्याइरहेको छ, त्यसैले उनी गर्भपतन विरोधीहरूले चाहेअनुसार कठोर कदम चाल्ने सम्भावना कम छ। तर, उनले केही हदसम्म पहुँच सीमित गर्ने उपाय अपनाउने अपेक्षा गरिएको छ ।
हाल अमेरिकामा झन्डै दुई तिहाइ गर्भपतन औषधिको माध्यमबाट गरिन्छ, जसलाई गर्भपतन समर्थकहरूले राज्यहरूका कडा नियमहरूमै पनि उपलब्ध गराउन सफल भएका छन्। ट्रम्प प्रशासनले गर्भपतन औषधि वितरणलाई कडा गर्नेछ वा नगर्नेछ भन्ने ठूलो प्रश्न बाँकी छ।
बाइडेन प्रशासन र केही रिपब्लिकन सांसदहरूको तुलनामा ट्रम्प युक्रेनलाई कम समर्थन गर्ने छन्। अमेरिकी हतियार र आर्थिक सहयोगको प्रवाह लगभग निश्चित रूपमा कम हुनेछ। तर ट्रम्पले हालै युद्ध अन्त्य गर्न ६ महिना लाग्न सक्छ भनेका छन्, जुन चुनावी अभियानमा उनले भनेको एक दिनमै युद्ध अन्त्य गर्ने दाबीभन्दा फरक छ।
ट्रम्प अन्य कुनै विदेशी प्रतिस्पर्धाभन्दा इरानमाथि कठोर नीति अपनाउने सम्भावना बढी छ। इरानको कमजोर अर्थतन्त्र र इजरायलको हालैको सैन्य सफलताका कारण ट्रम्प प्रशासन इरानमाथि अझै बढी दबाब सिर्जना गर्नेछ। त्यस्तै ट्रम्पले जलवायु परिवर्तनलाई कम प्राथमिकता दिनेछन् र बाइडेनका प्रमुख नीतिहरू उल्टाउनेछन्। सम्भवत अमेरिका फेरि पेरिस जलवायु सम्झौताबाट बाहिरिनेछ, तेल तथा ग्यास उत्खनन विस्तार गर्नेछ र प्रदूषण सम्बन्धी नियमहरू खुकुलो पार्नेछ।
त्यो बाहेक कर नीति बनाउन संसदबाट विधेयक पास गर्न महिना लाग्न सक्छ। ट्रम्पले आफ्ना राजनीतिक सहयोगीहरूलाई फाइदा पुर्याउने र विपक्षीहरूलाई दण्डित गर्ने कुनै कदम चाल्ने नचाल्ने प्रष्ट छैन । तर, यी प्रमुख क्षेत्रहरूमा ट्रम्पले छिटो नीति परिवर्तन गर्नेछन् भन्ने निश्चित देखिन्छ। आजैदेखि उनका कार्यकारी आदेशहरूले अझ स्पष्टता ल्याउनेछन्।






