नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ काठमाडौँलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

समुद्र सतहदेखि दुई हजार मिटर उचाइमा रहेको सूर्यचौरबाट मुलुकको राजधानी काठमाडौँदेखि नुवाकोटका विभिन्न रमणीय फाँट, गणेश, मनास्लु र अन्नपूर्ण हिमाललाई देख्न सकिन्छ । काठमाडौँको सामाखुसी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ ।

पर्यटकीय गतिविधि बढ्न थालेपछि पछिल्लो समय पर्यटन व्यवसायीले यस क्षेत्रमा लगानीसमेत बढाउन थालेका छन् । यसअघि युवायुवती, साथीभाइदेखि परिवारसम्म पिकनिक र आरामका लागि खाली चौरको उपयोग हुने गरेको थियो । पछिल्लो समयमा भने नयाँ होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । पर्यटन व्यवसायी जग्गा खरिद गरी होटल तथा रेष्टुराँ निर्माणमा जुटिरहेका छन् ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, पर्यटन व्यवसायी राजन सिङ्खडा, जेवी सिंह, हेमराज बराल र कृष्ण घिमिरेलगायतको समूहले रु सात करोड लगानीमा ‘सूर्यचौर नेचर रिट्रिट’ सञ्चालनमा ल्याएका छन् । २७ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको रिसोर्टमा हाल १० डिलक्स कोठा, चार डिलक्स ‘ग्ल्याम्पिङ टेन्ट’ र पिङ निर्माण गरिएको छ । कूल रु ३० करोड लगानीमा बन्न लागेको उक्त रिसोर्टभित्र स्वीमिङ पुल र सभाहलसहित थप डिलक्स तथा भिला निर्माण हुने सञ्चालक सिङ्खडा बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पिकनिक, जिपलाइन, हाइकिङ र बाइकिङको उत्कृष्ट गन्तव्यका रूपमा पनि यहाँको विकास हुँदै गएको छ । यहाँ प्याराग्लाइडिङ सञ्चालनका लागि अध्ययन भइसकेको छ भने जीपलाईन दर्ताको कामसमेत सम्पन्न भइसकेको छ ।

यस स्थानलाई भगवान शिवको क्रिडास्थलका रूपमा लिने गरिएको र ऋषि महर्षि र तपस्वीहरुले तपस्या गर्ने गरेको किंवदन्ती छ । त्यसैकारण यस क्षेत्रलाई शिवपुरी भन्ने गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको यहाँको एक गाउँपालिको नामसमेत शिवपुरी राखिएको छ । सोही गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुहुन्छ । “शिवपुरीभित्र रहेका प्राकृतिक सम्पदाका साथै यहाँभित्रका झरना, मठमन्दिर संरक्षणका लागि गाउँपालिका जुटेको छ”, उहाँले भन्नुभयो,“लौके झरना संरक्षण, झरनाको फेदमा पोखरी निर्माणका लागि रु एक करोड विनियोजन गरिसकेका छौँ ।”

यसैगरी, शिवपुरीभित्रका पर्यटकीय स्थल संरक्षणका लागि पदमार्ग, विश्रामस्थल, प्रचारप्रसारलगायतका कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष थपलियाले बताउनुभयो । उहाँकानुसार पर्यटन प्रवर्द्धनका लागि शिवपुरीभित्रका विभिन्न गाउँमा होमस्टे सञ्चालन गर्न होमस्टे तालिमसमेत सञ्चालन गरिएको छ । यहाँभित्र रहेको थान्से भुमेको मन्दिर प्रचारप्रसार तथा पर्यटन पार्कसमेत निर्माण भइरहेको छ । “शिवपुरीको पर्यटन विकासका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग पनि समन्वय गरिरहेको छ”, अध्यक्ष थपलियाले भन्नुभयो ।

बागमती प्रदेश सरकारले दुप्चेश्वर गाउँपालिका–२ र ४, शिवपुरी गाउँपालिका–७ र ककनी गाउँपालिका–२ र ५ नं वडालाई समावेश गरी ककनी–सुइरेचौर–चिसापानी–कुटुमसाङलाई जोडेर पदमार्ग निर्माण गर्ने योजना बनाइरहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com