पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’


प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ । नेपाली सेनाको आर्थिक तथा श्रमदानबाट जीर्णोद्धार गरी कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको हो ।

शक्तिशाली राज्य सञ्चालन भएको ऐतिहासिक स्थलको रुपमा रहेको गलकोटको कोतघर नेपाली सेनाको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी गलकोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

गलकोट–३ स्थित उक्त कोतघर बाइसेचौबिसे राज्यका पालाको इतिहासका रुपमा रहेको भन्दै सेनाले सामाजिक कार्यअन्तर्गत पुनःनिर्माण गरी बिहीबार पालिकालाई हस्तान्तरण गरेको २३ नम्बर बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले बताउनुभयो ।

नेपाली सेनाको श्रीमेहर गण, घोडाबाँधे बागलुङले दु्रतप्रभाव योजनाअन्तर्गत नागरिकसँग सेनाको भूमिका बढाउनका लागि गलकोटस्थित कोतघर पुनःनिर्माण गरी हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहायक रथी पौडेलले पुनःनिर्मित कोतघरलाई गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि सहायक रथी पौडेलले सेनाले विद्यालय भवन मर्मत, नागरिकमैत्री हेलिप्याड निर्माण, कोतघर जीर्णोद्धारलगायत सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको बताउनुभयो । बाइसेचौबिसे पालाको राज्यशक्ति सञ्चालन र हतियार भण्डारण थलको रुपमा रहेको कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको उहाँको भनाइ छ ।

लामो समयदेखि कोतघरको जीर्णोद्धार नहुँदा पानी चुहिने, अन्य भौतिक संरचना भत्किन थालेपछि नगरपालिकासँगको समन्वय, सेनाको आर्थिक तथा जनशक्ति व्यवस्थापनमा कोतघरलाई पुरानै मौलिक शैलीमा जीर्णोद्धार सम्पन्न गरिएको नगरप्रमुख गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानै शैलीमा नयाँ काठको प्रयोग, परम्परागत रुपमा रहेका आँखी झ्याल, खोपेर बनाइएको ढोका र छाना छाइएको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुनःनिर्माण गरी ढुङ्गाले छाइएको थियो ।

त्यसयता गलकोट नगरपालिकाले मर्मत सम्भार गर्दै आए पनि भत्काएर पुनःनिर्माण भने गर्न सकेको थिएन । “बाहिरबाट रङ्गरोगन गरेर सामान्य मर्मत सम्भार गरेपनि जीर्णोद्धार गर्न नसक्दा भित्रि काठ कुहिँएको रहेछ, ढुङ्गाको छाना चुहिएर कोतघर जीर्ण भनेको थियो । नगरपालिकाले डिपिआर बनाएर कोतघरको पुनःनिर्माण गर्ने तथा यस क्षेत्रको विकास गर्ने योजना अघि बढाएको थियो”, नगरप्रमुख गैरेले भन्नुभयो, “नगरपालिकाको योजनामा सेनाले आर्थिक तथा श्रमदान गरी जीर्णोद्धार सम्पन्न गर्दा कोतघर चिटिक्क परेको छ ।”

नगरपालिकाले हातहतियार प्रतिस्थापन, साजसज्जा, घेराबार, पदमार्ग, खानेपानी र शौचालयलगायत संरचना बनाइसकेको छ । सेनाको श्रीमेहर गणले रु नौ लाख आर्थिक तथा रु तीन लाख बराबरको श्रमदानमा जीर्णोद्धार गरी पालिकाको जिम्मा लगाएको प्रमुख सेनानी धनबहादुर रानाले जानकारी दिनुभयो ।

कोतघरको बृहत् जीणोद्धारका लागि नगरपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अन्तर्गत पश्चिम पृतनाको बजेटमा कोतघर पुनःनिर्माण गरिएको उहाँको भनाइ छ । गत वैशाख २३ गतेदेखि पुनःनिर्माण थालेको सेनाले यही असार ७ गते सम्पन्न गरेको थियो । पुनःनिर्माणमा सेनाका झण्डै ३० जना जनशक्ति दैनिक रुपमा परिचालन भएपछि छिटो काम सम्पन्न भएको हो ।

ऐतिहासिक र पुरातात्विक महत्व झल्काउने गरी कोतघरको जीर्णोद्धारले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने नगरप्रमुख गैरेले बताउनुभयो । उहाँका अनुसार कोतघरमा टुँडाल, झ्याल तथा ढोका पोखराबाट झिकाएर प्रयोग गरिएकाले थप आर्कषित भएका छन् । ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नेगरी पालिकाले रु ५० लाख बढीको पूर्वाधार निर्माण गरिसकेको छ ।

उक्त कोतघरबाट दुई सय १३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य सञ्चालन गरेका स्थानीयको भनाइ छ । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाललगायत संरचना निर्माण गरिएको थियो ।

कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि यहाँ छ । राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भइसकेका छन् । स्थानीयका अनुसार यहाँ झिँगटीले छाएको भूइँतले दरबार थियो । दरबारको जगमा अहिले पनि इँटामा अवशेष भेटिने गरेको छ । साथै विसं २०४० मा कोतघरको पुनःनिर्माण गरिएको थियो ।

अहिलेको गलकोट नगरपालिकाको नामसमेत यही कोतबाट निर्माण भएको इतिहास छ । गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम पछि गलकोटका रुपमा प्रचलित हुँदै गएको हो । कोतघरमा अहिले पनि वडादसैँ र चैतेदसैँमा विशेष पूजा गरिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com