भूकम्पको ९ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण
प्रकाशित मिति : असार ८, २०८१ शनिबार

‘इटाचापा’ भवन पुनःनिर्माण गरिँदै काठमाडौँ, ८ असार ः काठमाडौँ महानगरपालिका–२७ स्थित असनमा रहेको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र धार्मिक महत्वको ‘इटाचापा’ भवन पुनर्निर्माणका लागि भत्काइँदै । गुठी संस्थान मातहत रहेको भवन महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको हो । तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस
वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ ।
विसं १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनःनिर्माणमा गुठी संस्थान र काठमाडौँ महानगरपालिकाबीच केही समय हानथाप भएको थियो । सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनःनिर्माण थालिएको वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिनुभयो ।
ऐतिहासिक महत्वको यो सम्पदा रु दुई करोड ४९ लाख ३७ हजारमा मा पुनःनिर्माण थालिएको उहाँले सुनाउनुभयो । तीन वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ । विसं २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गरेका उहाँले बताउनुभयो ।
ल्हासा–काठाडौँ यात्राका क्रममा कुनै रोगको सङ्क्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने ठानेर उनीहरू एकान्तबास बसेका आफूले पनि देखेको वडा अध्यक्ष खड्गीले बताउनुभयो ।