कामीरिता शेर्पा ३० औँ पटक सगरमाथाको चुचुरोमा
प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2024/05/kamirita-sherpa.jpg?fit=1024%2C689&ssl=1)
कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको छ । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उहाँ आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।
“कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ”, सगरमाथा आधारशिविरबाट कार्यालय प्रमुख गौतमले भन्नुभयो । वसन्त ऋतुको जारी आरोहणमा उहाँले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको छ।
फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।
सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुनुहुन्छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो ।
गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ ।