सन्दीपलाई टी-२० विश्वकप खेल्न अमेरिका पठाउने तयारीमा क्यान, भिसाको प्रक्रिया अघि बढाइयो
प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलाउन पहल गरिरहेको जनाएको छ । लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) लगायत निकायहरूमा गम्भीरताका साथ पहल भइरहेको क्यानका सचिव पारस खड्काले बताए ।
‘सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा यस संघबाट गम्भीरताका साथ आईसीसीलगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको छ।’ क्यानका सचिव पारसले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
लामिछानेलाई अमेरिका पठाउन भिसाको प्रक्रिया समेत अघि बढाइएको छ । क्यानबाट सन्दीपको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडी बढाई सकिएको सचिव खड्काले बताए ।
विज्ञप्तीमा भनिएको छ- ‘संयुक्त राज्य अमेरिकाको भिसाको प्रक्रिया अगाडि बढाइएको ब्यहोरा जानकारी गराउँदै यस संघबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडी बढाई सकिएको ब्यहोरा समेत अवगत गराउन चाहन्छु ।’