प्रहरी जवान घिमिरेको हत्या आरोपमा एक नाबालकसहित ७ जना समातिए


प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलनमार्फत प्रहरी जवान घिमिरेको हत्या आरोपमा एक नाबालकसहित सात जनालाई सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ घर भई हाल मनमैजु बालाजु, जरंखुलगायत स्थानहरूका सडकपेटीमा बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ की २१ वर्षीया विपना, वसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटको ताँदी गाउँपालिका–४ ओखरेकी २१ वर्षीया बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक १३ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियुक्तहरु अष्ट नारायण हलपछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा प्रहरीले एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको हो ।

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भई हाल ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत मृतक प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा फेला परेको थियो । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुइँ तलामा म्याटले छोपेको अवस्थामा शव फेल परेको प्रहरीले जनाएको छ । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com