जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु


प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार

बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन । ठूला–ठूला काठ, मुडा डढेर अङ्गार बनेका छन् । झाडी सबै जलेर सकिएको छ ।

आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त बन्यो । कति चराचुरुङ्गी र वन्यजन्तुसमेत आगोमा परी जले त्यसको लेखाजोखा छैन । आगलागीबाट ज्यान जोगाउन भागेका वन्यजन्तु यतिबेला नजिकको गाउँ पसेका छन् । गाउँमा झरेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन् ।

ढोरपाटन सिकार आरक्ष नजिक पर्ने निसीखोला गाउँपालिका–४ खाडाचौरदेखि सुरु भएको आगो बढाचौर हुँदै साम्झाधुरी नजिकै पुगेको छ । स्थानीयले बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । पाँच दिनदेखि लागेको आगो अझैसम्म पनि नियन्त्रणमा आएको छैन । आगोका कारण गाउँ झरेका वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारी खाइदिन थालेपछि स्थानीय हैरान बनेका छन् ।

पछिल्लो समय बसाइँसराइका कारण गाउँमा झाडी बढ्न थालेपछि बाँदर, बँदेल, घोरललगायतका वन्यजन्तु तल्लो क्षेत्रमा झरेका छन् । त्यसमाथि पछिल्लो समय आगलागीले गर्दा ठूलो सङ्ख्यामा वन्यजन्तु बस्ती छिरेको स्थानीय बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिले गाउँमा मानिसको चहलपहल हुँदा कहिलेकाहीँ बाँदर आउने गरे पनि अरु वन्यजन्तु नआएको ढोरपाटन नगरपालिका–८ का गुमानसिंह घर्तीमगरले बताउनुभयो । एक महिनादेखि गाउँमा वन्यजन्तुको हुल नै हिँड्ने गरेको उहाँको भनाइ छ । खासगरी माथिल्लो बस्तीमा वन्यजन्तुले आतङ्क मच्याउन थालेको घर्ती बताउनुहुन्छ । बारीमा लगाएको तरकारीदेखि घरमा राखेको अन्न वन्यजन्तुले नष्ट गरिदिन थालेको उहाँले बताउनुभयो । निसीखोलापट्टिबाट लागेको आगोले ठूलो रुप लिएको घर्तीको भनाइ छ ।

“पहिले घाँसदाउरा ल्याउन जङ्गलमा पुग्दा बाँदर भेटिन्थे, चार–पाँच वर्षदेखि गाउँमा कम मान्छे भएर होला अहिले गाउँमै बाँदर आउँछन्, वनभरि आगो लागिरहेको छ, त्यही भएर होला अहिले वन बस्ने अन्य जनावर पनि आएका छन्”, घर्तीले भन्नुभयो, “घर छाडेर एकैछिन कतै गएर आउँदा सबै सामान नष्ट गरिदिन्छ, एकजना हेरालु राख्नुपर्ने स्थिति आएको छ, गाउँमा आएका जनावरलाई लखेटेर कहाँ जाउन् ?, वनमा आगो लागेको छ ।”

स्थानीय पानकुमारी विकले बासस्थान जलेपछि वन्यजन्तु घरको करेसामा आएर बस्न थालेको सुनाउनुभयो । बाँदर, घोरल र स्यालले भित्र्याउने बेलाको गहुँबाली नष्ट गरिदिएको उहाँको भनाइ छ । आफ्नो घर जङ्गल छेउमै रहेको हुँदा सबैभन्दा बढी क्षति पनि आफ्नै गरिदिएको विकले गुनासो गर्नुभयो । पहिलेको तुलनामा यस वर्ष धेरै ठाउँमा आगलागी भएको भन्दै माथिल्लो क्षेत्रका जीवजन्तु सबै तल्लो भेगमा झरेको उहाँको भनाइ छ ।

दिन प्रतिदिन आगलागी हुँदै गएपछि वन्यजन्तु तितरबितर बनेर गाउँ झर्न थालेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले बताउनुभयो । फागुनदेखि हालसम्म ४० बढी सामुदायिक वनमा आगलागी भएको उहाँले राससलाई जानकारी दिनुभयो । दिन प्रतिदिन जिल्लामा आगलागी बढ्दै गएको उहाँको भनाइ छ । आगो निभाउन जिल्लामा रहेका डिभिजन वन कार्यालयबाट कर्मचारीसहित स्थानीय खटिइरहेको केसी बताउनुहुन्छ । अझै पनि एक दर्जन वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको उहाँको भनाइ छ ।

केसीले भन्नुभयो, “बागलुङमा यस वर्ष धेरै ठाउँमा आगलागी भयो, नागरिकको लापरबाहीका कारण आगलागीका घटना धेरै भएका छन्, निभाउन धेरै प्रयास भएका छन्, आगलागीबाट वन जङ्गल जोगाउन डिभिजन वन कार्यालय बागलुङले विभिन्न सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ, तर नागरिक गम्भीर नहुँदा दिनदिनै वनमा लागो लागिरहेको छ, आगो लगाउनेलाई नियन्त्रणमा लिने प्रयास पनि गरेका छौँ ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com