विषाक्त आहाराले गिद्ध संरक्षणमा चुनौती, एक वर्षभित्रमा २३ गिद्ध मरे


प्रकाशित मिति : चैत्र ८, २०८० बिहीबार

विषाक्त आहाराका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ । विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्ध मर्ने क्रम बढ्दै गएको छ ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा विषाक्त आहाराका कारण एक वर्षभित्रमा २३ गिद्ध मरेका छन् । विषाक्त आहाराका कारण बिरामी भएका गिद्धको उद्धार गरिएको जटायु रेस्टुरेन्टका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरी बताउनुभयो ।

“गिद्ध जोगाउन ठूलो चुनौती देखिएको छ”, उहाँले भन्नुभयो, “विषादी प्रयोग गरेर कुखुराको मासु कुकुर र स्याललाई मार्न खुवाउने गरिएको छ । विषयुक्त मासु खाएर मरेका कुकुर र स्यालको सिनो खाँदा गिद्ध मरेका हुन् ।”

यसअघि गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक औषधिमा २०६३ जेठ २३ गते औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाए पनि लुकिछिपी बिक्री हुने गरेको छ । सो औषधिका कारण पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चरा विद्हरु बताउँछन् । डाइक्लोफेनेक औषधि प्रयोग गरी उपचार गराइएका पशुको सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई गिद्ध मर्ने गरेका चरा विज्ञ डा हेमसागर बरालले बताउनुभयोे ।

पछिल्लो समय मरेका कुकुर, स्याललगायतको सिनोमा डाइक्लोफेनेकभन्दा कडा विषादी प्रयोग गरिँदा गिद्ध मर्ने गरेको पाइएको चरा विज्ञ बरालले बताउनुभयो । “विषादी किनबेच गर्न विज्ञको सिफारिस अनिवार्य चाहिने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com