महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष


प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार

पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको छ ।
पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरीको मूल शिविर रहनेछ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपति क्षेत्र नासल चोकमा रहनेछ । मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सब कमण्ड पोष्ट खडा गरी समग्र पशुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइनेछ ।
यसैगरी खोजखबर कक्षको व्यवस्थापनसहित मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ‘ब्यारिकेड’ जडानलगायत कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुने कोषका सदस्य सचिव खत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्दिर तथा मुख्य क्षेत्रभित्रमा मन्दिरका भण्डारीलगायत सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी परिचालन हुने तथा मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउटलगायत चार हजार जना स्वयंसेवक खटिने छन् ।”
पशुपतिनाथ मन्दिर नजिकै मुख्य (कोर) क्षेत्रमा डाक्टर, नर्स, औषधि र शय्यासहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिव ५० स्वास्थ्य शिविर रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आपत्तकालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन पनि उपलब्ध हुने जनाइएको छ ।
यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शङकराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक वागमती पारी गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ ।
यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने मुख्य क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगङ्गामा समेत रहनेछ । पशुपतिनाथको दर्शनका लागि यसपटक नौ वटा मार्गको व्यवस्था गरिएको सदस्य सचिव खत्रीले बताउनुभयो । उहाँका अनुसार उत्तरपट्टी तीन, पूर्वपट्टी दुई, दक्षिणपट्टी दुई तथा पश्चिमपट्टी दुई मार्गको व्यवस्था गरिएको छ ।
यसैगरी पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ । विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनकोसमेत व्यवस्था मिलाइने जनाइएको छ । सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिइने कोषले जनाएको छ ।
कोषले मन्दिर परिसरमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ गाँजा, भाङजस्ता पदार्थको बिक्रीवितरण एवं ओसारपसार र भण्डारण तथा सेवन नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष कसैलाई पनि विषेश पासको व्यवस्था नगरिएको जनाएको छ ।
बत्तिसपुतली, मैतिदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिङ्गलास्थान गेट हुँदै वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ । यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, विमानस्थल, तिलगङ्गा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ ।
साथै जोरपाटी, कपन, महाङ्काल, चाबहिल, सिफलतर्फबाट आउने दर्शनार्थीका लागि मन्दिरको उत्तर ढोका तथा रातोपुल, कोलोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीका लागि मन्दिरको पश्चिमी बाहिरी सानो ढोकाबाट प्रवेश गराइने व्यवस्था मिलाइएको छ । दर्शनार्थीलाई सहजरुपमा र छिटो भगवानको दर्शन गराउन आवश्यक सम्पूर्ण कामको व्यवस्था मिलाइएको सदस्य सचिव खत्रीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com