रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन, ४५ मिनेटमै यात्रा


प्रकाशित मिति : आश्विन ३, २०८० बुधबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज रत्नपार्कको शान्तिवाटिकाबाट उक्त बस सेवाको शुभारम्भ गर्नुभयो ।

उक्त बसका लागि ‘डेडिकेटेड’ लेनको व्यवस्था गरिएको छ । बिहीबारदेखि कार्यालय समयमा बिहान ९ देखि ११ र अपराह्न ४ देखि ६ बजेसम्म द्रुत सेवाका बस सञ्चालनमा आउनेछन् । काठमाडौँ उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याएको सरकारले जनाएको छ । रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ ।

निर्धारित समयका लागि ४० सिट क्षमताका २५ बस छुट्याइएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले जानकारी दिनुभयो । कार्यालय समयमा अहिले सार्वजनिक यातायातमा यात्रा गर्दा सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब दुई घण्टा लाग्दै आएको छ ।

द्रुत बस सेवा सञ्चालन भएपछि सो दूरीको यात्रा करिब ४५ मिनेटमा सीमित हुनेछ । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ । त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“सहरी क्षेत्रको यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको छ, उपत्यकाको यातायात क्षेत्र सुधारको जमर्को सुरु गरिएको छ”, उहाँले भन्नुभयो । सरकारले गत फागुन ३० गते सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । कार्यालय समयमा ती बस प्रत्येक एक/एक किलोमिटरको फरकमा गुड्नेछन् ।

“सार्वजनिक सवारी चढेर निश्चित समयमा गन्तव्यमा पुग्न सकिन्छ भन्ने विश्वास दिलाउन सरकारले द्रुत बस सेवा सञ्चालनमा ल्याएको हो, यो सुरुआत मात्रै हो”, महानिर्देशक रिजालले भन्नुभयो, “ती बसका लागि छुट्टै लेनको व्यवस्था गरिएको छ, लेनमा रातो रङ लगाइएको छ, कार्यालय समयमा उक्त लेनमा अन्य सवारी चल्न पाउने छैनन् ।” द्रुत सेवाका बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि रोकिने छैनन् ।

बस सेवाको शुभारम्भ गर्दै मन्त्री ज्वालाले सहरी क्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन र जनतालाई सार्वजनिक यातायातप्रति विश्वास र भरोसा दिलाउन पहिलो चरणमा कार्यालय समयमा सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गरिएको बताउनुभयो । “सरकारको अभियान यतिमै मात्र सीमित हुँदैन, यसलाई सुधार र विस्तार गर्दै लैजाने छौँ”, उहाँले भन्नुभयो, “विमानस्थल, चक्रपथ, बालाजु, महाराजगञ्ज, थानकोट, ललितपुरलगायत क्षेत्रमा द्रुत बस सेवा विस्तार गरिनेछ ।”

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सार्वजनिक यातायातप्रति नागरिकको विश्वास र भरोसा बढाउनुपर्ने बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने जमर्को स्वरुप द्रुत बस सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले सार्वजनिक सवारीलाई व्यवस्थित बनाउन सर्वसाधारणलाई सचेत बनाउनुपर्नेमा जोड दिँदै ‘डेडिकेटेड लेन’मा चल्न सवारी साधनको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उक्त लेनमा चल्ने सवारी साधनलाई पनि अन्य सार्वजनिक यातायात सरहका कानुन आकर्षित हुने जनाउँदै उहाँले ट्राफिक नियमलाई पालना गरेर यातायातका साधन सञ्चालन गर्न आग्रह गर्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com