तरकारी बजारले बदलियो फिस्लिङको पहिचान


प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार

पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय बजार चकमन्न हुँदा फिस्लिङ बजारमा भने बिहानैदेखि चहलपहल हुने गर्दछ । तरकारी सङ्कलन केन्द्रका रुपमा चिनिएको फिस्लिङमा किसान बिहानैदेखि तरकारी र फलफूल बिक्रीका लागि आउने गरेका छन् भने किन्न आउने व्यापारीको लाइन लाग्ने गरेको छ ।

गाउँमा किसानले व्यावसायिकरुपमा लगाएको तरकारी यहाँ बिक्री गर्न ल्याउँछन् । चितवन, गोरखा, धादिङ र तनहुँका किसानको कृषिजन्य उत्पादन यहाँको बजारबाट बिक्री हुने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी यहाँ ल्याउने गरिएको छ ।

इच्छाकामना गाउँपालिका–३ तल्लो डुडेका ज्ञानबहादुर प्रजाको तरकारी बिक्री गर्ने ठाउँ फिस्लिङ बजार नै हो । उहाँ आफूले व्यावसायिकरुपमा लगाएको तरकारी बिक्रीका लागि नियमित रुपमा यस बजारमा आउने गर्नुहुन्छ । तरकारीले नै जीवनमा परिवर्तन ल्याएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “मकै र कोदो लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो, अहिले तरकारीबाट राम्रो आम्दानी भएको छ ।” उहाँले यतिबेला तीन कट्ठामा जमिनमा गोलभेँडा लगाउनुभएको छ । अहिले गोलभेँडाको भाउ पनि उच्च छ । आफ्नो उत्पादनले राम्रो भाउ पाएपछि उहाँ खुसी हुनुहुन्छ ।

गोलभेँडा बेच्न फिस्लिङ झर्नुभएका चेपाङ हालसम्मकै उच्च मूल्य पाएको बताउनुभयो । उहाँसँगै गाउँका अन्य किसानले पनि व्यावसायिकरुपमा तरकारीखेती गरेका छन् । अहिले गाउँगाउँमा यातायातको सुविधा पुगेको छ । गाडीमार्फत नै किसान तरकारी फिस्लिङ पठाउँछन् । “मनकामनाबाट भाडामा ल्याएर बोलेरो चलाएका छौँ । हाम्रो कृषि समूह छ”, उहाँले भन्नुभयो, “समूहलाई आधा रकम उपलब्ध गराउने हो भने हामी किन्ने थियौँ ।” उहाँले सरकारले अनुदानमा कृषि समूहलाई एउटा गाडी उपलब्ध गराए किसानलाई सहज हुने बताउनुहुन्छ ।

फिस्लिङ सङ्कलन केन्द्रमा मध्यस्थकर्ताको भूमिका यहाँ सहकारी र व्यवसायीले गरेका छन् । किसानले उनीहरुलाई काँटा गरे बापत प्रतिकिलो दुई रुपैयाँ दिने गर्दछन् । व्यापारीहरु तरकारी लिन काठमाडौंँ, पोखरा, नारायणगढ, बुटवललगायतका ठाउँबाट आउने गर्छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड दाह्रेचोकका संस्थापक डम्बरबहादुर गुरुङ २०५७ सालदेखि यहाँ तरकारी सङ्कलन केन्द्र स्थापना भएको बताउनुहुन्छ । केन्द्र स्थापना भएपछि अन्यत्र लगेर बिक्री गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । “मैले आफैँ सुन्तलाखेती गरेको छु”, उहाँले भन्नुभयो, “यही बजारमा बिक्री गरेर वार्षिक १० लाख रुपैयाँसम्म कमाउने गरेको छु ।” उहाँले काम गर्ने किसानका लागि सङ्कलन केन्द्रले धेरै राहत प्रदान गरेको बताउनुभयो । विगतको सम्झना गर्दै उहाँले भन्नुभयो, “सुनसान ठाउँ तरकारी सङ्कलन केन्द्रकै कारण चम्किएको छ ।”

यहाँ नजिकबाट मात्र नभई टाढाटाढाबाट पनि किसान तरकारी बिक्रीका लागि आउने गरेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले तरकारी बिक्रीका लागि फिस्लिङ नै झर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “यावसायिकरुपमा तरकारी खेती गर्न थालेको २० वर्ष पुग्यो”, उहाँले भन्नुभयो, “गाउँमा बजारीकरणको समस्या छ, बजार नै झर्नुपर्छ ।” उहाँले दुई रोपनीमा तरकारी खेती गर्दै आउनुभएको छ । विगतमा उहाँले काठमाडौंँ र नारायणगढसम्म तरकारी बिक्रीका लागि लैजाने गर्नुहुन्थ्यो । अहिले त्यो बाध्यता भने हटेको छ । यही व्यवसायबाट उहाँले छोराछोरीलाई उच्च शिक्षा पढाउनुभएको छ ।

बेनीघाट रोराङका विष्णु प्रजाको पनि तरकारी बिक्री गर्ने बजार फिस्लिङ नै हो । आफ्नै बारीमा उहाँले तरकारी खेती गर्दै आउनुभएका प्रजाले उत्पादन हुनासाथ फिस्लिङ बजार ल्याउनुहुन्छ । फिस्लिङमा तरकारी तथा फलफूल सङ्कलन केन्द्र स्थापना भएपछि व्यावसायिक तरकारी खेती गर्न थालेको उहाँँ बताउनुहुन्छ । उहाँको परिवार यही तरकारी खेतीले राम्रोसँग चलिरेको छ । उहाँ मात्र होइन, खोरिया खनेर जीविकोपार्जन गर्दै आएका चेपाङ समुदायका मानिस व्यावसायिक बन्दै गइरहेका छन् । उनीहरु पनि यही बजारमा आफ्नो उत्पादन लिएर बिक्रीका लागि आउने गरेका छन् । फिस्लिङ राजमार्गसँगै जोडिएका कारण यहाँ यात्रा गर्ने यात्रुहरुले पनि सवारीसाधन रोकेर तरकारी तथा फलफूल किन्ने गरेका छन् ।

इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्रका लागि भवनसमेत निर्माण गरेको छ । अहिले भवनमा रहेका सटरमा पाँचवटा तरकारी सङ्कलन केन्द्र सञ्चालन भइरहेका छन । मौसममा यस तरकारी सङ्कलन केन्द्रबाट २० ट्रक तरकारी बिक्री हुने गरेको वडा नं ३ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरबहादुर नेपालले बताउनुभयो । “यस केन्द्रले यस क्षेत्रका मानिसहरुलाई कृषिले जीविकोपार्जनमा धेरै सहयोग पु¥याएको छ । “विगतमा मकै र कोदो मात्र लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो । आजभोलि तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ”, उहाँले भन्नुभयो, “यहाँ मौसममा २० र बेमौसममा कम्तीमा पाँच ट्रक तरकारी यस बजारबाट बिक्री हुने गरेको छ ।” यहाँका किसानले सुन्तला, नास्पती, कागतीलगायतका फलफूल समेत यहाँ नै ल्याएर बेच्छन् । चितवन, गोरखा र धादिङका २० हजारभन्दा बढी किसानले उत्पादन गरेको तरकारी यहाँ आउने गर्दछ । यस सङ्कलन केन्द्रबाट मासिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले किसानको उत्पादन र बजारीकरणका लागि सहयोग गरिरहेको छ । गतवर्ष वडा नं २ को हपनी कृषि समूहलाई तरकारीको बजारीकरणका लागि कृषि एम्बुलेन्स उपलब्ध गराएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले यो वर्ष थप दुई समूहलाई कृषि एम्बुलेन्स खरिद दिने योजनामा गाउँपालिका रहेको बताउनुभयो ।

यहाँ एक करोड लगानीमा सुविधा सम्पन्न सङ्कलन केन्द्र निर्माण हुँदैछ । सङ्कलन केन्द्रको भवनभित्रै करिब २५ टन अट्ने शीतभण्डारसमेत निर्माण भएको छ । गाउँपालिकाले शीतभण्डार सञ्चालनका लागि कार्यविधि निर्माण गरिरहेको भन्दै गाउँपालिका अध्यक्ष गुरुङले यसै वर्षबाट सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साना किसानलाई शीतभण्डार सञ्चालनको जिम्मा दिन लागेका छौँ, न्यूनतम् मूल्यमा किसानले शीतभण्डारको उपभोग गर्न पाउनेछन् ।”

उहाँले शीतभण्डार सञ्चालनमा आएसँगै किसानको उत्पादन बिक्री भएन भनेर चिन्ता लिनुपर्ने अवस्था नरहने बताउनुभयो । शीतभण्डार नहुँदा अहिले किसानहरुले आफ्नो उत्पादन सस्तो मूल्यमा दिनुपर्ने बाध्यता छ । सहकारीमार्फत तरकारी सङ्कलन गरेपछि मध्यस्तकर्ताले राख्ने प्रतिकिलो दुई रुपैयाँलाई घटाउन सकिने अध्यक्ष गुरुङले बताउनुभयो । “सहकारीमार्फत ५० पैसामा झार्ने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “यो काम दुई महिनाभित्र गर्दछौँ ।”

पालिकाले इच्छाकामनाका गाउँगाउँमा तरकारी उपसङ्कलन केन्द्रसमेत स्थापनाको तयारी गरेको छ । हात्तीबाङ, काउले, मायाटार, दाह्रेचोक र जलबिरेमा उपसङ्कलन केन्द्र स्थापना गरिने उहाँको भनाइ छ । एउटा सङ्कलन केन्द्रलाई करिब रु १० लाख लागत लाग्ने उहाँले बताउनुभयो । यसका लागि वडागत रुपमा बजेट समेत विनियोजन भइसकेको छ । इच्छाकामना गाउँपालिका–१ को हात्तीबाङ क्षेत्र, वडा नं २ को हपनी, मायाटार, काउले क्षेत्र, वडा नं ३ को सबै क्षेत्र, वडा नं ५ को तामिन, साठीमुरे, पामडाँडामा तरकारी र फलफूल खेती हुने गरेको छ । यी सबै ठाउँमा अहिले यातायातको व्यवस्था पुगिसकेको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष गुरुङले पालिकाले किसानले उत्पादन गरेको वस्तुको मूल्यमा एकरुपता ल्याउनका लागि काम गरिरहेको बताउनुभयो । उहाँले उत्पादनका आधारमा किसानलाई अनुदान दिन समेत सहज हुनेछ भन्नुभयो । उहाँले पालिकाले आव २०८०/८१ मा कृषि क्षेत्रलाई प्राथमितामा राखेको भन्दै डेढ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो । यसले ग्रामीण क्षेत्रमा बस्ने पिछडिएका खासगरी चेपाङ समुदायको पनि जीवनस्तर उकासिने उहाँको विश्वास छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com