गर्मी बढेपछि कैलालीमा दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर, विरामी समेत बढे


प्रकाशित मिति : जेष्ठ ३१, २०८० बुधबार

कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ ।

रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउनुहुन्छ । यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उहाँलाई रिक्सा चलाउन कठिन भएको छ । “गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ”, मायाले भन्नुभयो, “दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन । केही दिनदेखि गाह्रो भएको छ ।”

अर्का रिक्सा चालक दिलबहादुर चौधरी पनि तातो हावा र गर्मी सहन कठिन भएको बताउनुहुन्छ । “यात्रु बोकेर हिँड्दा सबै ठाउँमा चिसो पानी खान पाइँदैन, एकातिर गर्मी, अर्कोतर्फ तातो पानी पिउन सकिँदैन”, उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ त मुटु पनि दुख्छ । हिजो त गर्मीले मुटु दुख्न थालेपछि दिनभरि रिक्सा चलाउन गएन ।” विगत पाँच वर्षदेखि रिक्सा चलाएर जीवन धानेकी लक्ष्मी चौधरी पनि यस वर्ष दिउँसोमा रिक्सा चलाउन नसकेको बताउनुहुन्छ । ज्यालादारी गर्नुभन्दा अटोरिक्सा चलाउन थालेकी लक्ष्मीलाई पनि गर्मीले हैरान पारेको छ । “गर्मीले यात्रु बोक्न सकिएको छैन, साँझ र बिहान मात्र चलाउँछु, दिनभरि लचाए पो कमाइ हुन्छ”, उहाँ भन्नुहुन्छ, “थोरै काम गर्दा पनि गर्मीले बेलुका थाकिन्छ, एकातिर गर्मीमा रिक्सा चलाउनु, अर्कोतर्फ भान्सामा काम गर्दा पनि गर्मी हुन्छ । महिलालाई त कठिन मात्र ।”

राधाकृष्ण थारुलाई पनि यस्तै समस्या छ । “बाटा राम्रो छैनन् । धुलैधुलो, खाल्डाखुल्डी भएको सडकमा गर्मी छल्न मुस्किल भएको छ”, उहाँ भन्नुहुन्छ, “गर्मीमा दिउँसो यात्रु बोक्न पनि सकिँदैन, गर्मीमा यात्रु पनि पाइँदैनन् ।” गर्मी बढेपछि दैनिक ज्यालादारी काम गर्नेलाई पनि समस्या भएको छ । दैनिक घर निर्माणको काममा संलग्न राधेश्याम चौधरी पनि एक सातादेखि काममा जान सक्नुभएको छैन । “घरको मसला बनाउँदै थिए, एक दिन गर्मीले ढलेछु । साथीहरुले अस्पताल लगेर उपचार गरेर बचाए”, राधेश्यामले भन्नुभयो, “त्यसपछि काममा गएको छैन । पानी परेपछि अलि शीतल भएमा काममा जाउला भनेको छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राधाश्यामजस्तै अन्य कामदारसमेत गर्मीले नियमित काममा जान सकेका छैनन् । गर्मी बढेपछि टीकापुर अस्पतालमा समेत विभिन्न समस्या भएका बिरामी बढेको छन् । तापक्रम बढ्दै जाँदा मानिसको स्वास्थ्यमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुनेजस्ता समस्या देखा पर्छन् । गर्मीको समयमा मानिसको शरीरमा पानीको मात्रा घटी मानिस बेहोस हुने, बिरामी हुने, ज्वरो आउनेलगायतका समस्या देखिएका बिरामी बढेका अस्पतालले जनाएको छ ।

गर्मी बढेपछि विद्यालयमा बिदा

गर्मी अत्यधिक बढेपछि कैलालीका विद्यालयमा गर्मी बिदा दिन थालिएको छ । गर्मी बढेपछि बालबालिकालाई विद्यालय जान आउन कठिन भएको छ । बालबालिका गर्मीले विद्यालयबाट आउँदा ओठमुख सुकाएर आउने भएकाले अभिभावकले बिदा दिन माग गरेका हुन् ।

पछिल्लो समय अत्यधिक गर्मी बेढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखिएकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरी बिदा दिइएको पालिकाले जारी गरेका सूचनामा उल्लेख छ । गर्मी बढेकाले कैलालीको टीकापुर नगरपालिकाले असार १ गतेबाट बिदा दिने निर्णय गरेको छ । धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले यसअघि नै बिदा दिइसकेका छन् । गर्मीले बालबालिकालाई विद्यालय जान र विद्यालयमा समेत शिक्षणमा समस्या भएपछि बिदा दिन थालिएको हो । टिनका छाना, प्रचण्ड गर्मी, कतिपय विद्यालयमा पङ्खासमेत नभएको अवस्थामा विद्यालयमा पठनपाठनमा समस्या भएको शिक्षक बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com