छिनाएको टाउको बोकेर आत्मसमर्पण


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

– ठाकुरसिंह थारु

श्रावण ७, २०७४-
असार २६ गते १० बजे राति । इलाका प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू खाना खाएर निदाउने तरखरमा थिए । प्रहरी कार्यालयको गेट नजिकैको सेन्ट्री पोस्टमा महिला प्रहरी जवान हतियारसहित नियमित ड्युटीमा थिइन् । अकस्मात् राति साइकल चढेका एक जना मानिस चौकीअघि देखिए । उनी थिए— कोहलपुर नगरपालिका–४ का २९ वर्षीय मोहम्मद आफताफ बेडुवा ।

उनी प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजे । राति प्रहरी कार्यालयमा प्रवेश गर्न खोजेपछि महिला प्रहरी जवानले उनलाई रोकिन र सोधपुछ गर्न थालिन, ‘को हौ तिमी ? यति राति किन यहाँ आएको ?’
आफताफले जवाफ फर्काए, ‘म आत्मसमर्पणका लागि आएको हुँ । मैले आवेगमा आएर
आफ्नी जेठी श्रीमतीको टाउको छिनाएर मारिदिए । नपत्याए टाउको बोकेर सँगै ल्याएको छु ।’ उनको जवाफबाट ती महिला प्रहरी अवाक भइन्, बोल्नै सकिनन् ।

उनले आत्तिदै सहकर्मीहरूलाई खबर गरिन् । प्रहरी जवानहरूले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरेशराज काफ्लेलाई खबर गरे । घटना सुनेपछि काफ्लेले पनि तत्काल विश्वास गर्न सकेनन् । उनले साइकलको क्यारियरमा राखिएको कपडा बेरिएको पोका खोल्न लगाए । नभन्दै रगतले लतपतिएको एक महिलाको टाउको रहेछ । उक्त टाउको कोहलपुर नगरपालिका–४ बेलनपुरकी २७ वर्षीया गुलसन बेडुवाको थियो ।

आफताफ ६ छोराछोरीकी आमा तथा आफ्नै श्रीमतीको हत्याको पुष्टि गर्न आफूले छिनाएको टाउको लिएर प्रहरी कार्यालय पुगेका रहेछन् । ‘कस्तो अचम्मको घटना ? सुरुमा सोधपुछ गर्दा उसले भनेको कुरामा मैले विश्वासै गर्न सकिनँ । हत्या गरेपछि अपराधीहरू भाग्छन् । उसले टाउको लिएर आएको छु भनेपछि पत्याउनै गाह्रो भयो । कपडाले बेरिएको पोका खोल्दा उसकै श्रीमतीको टाउको रहेछ,’ डिएसपी काफ्लेले साप्ताहिकसँग भने, ‘त्यसपछि भने पत्याउन बाध्य हुनै पर्‍यो । अहिले उसलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेका छौं ।’

हत्यामा पक्राउ परेका आफताफका अनुसार उनकी जेठी श्रीमती गुलसन घरमा सधैं किचकिच गर्थिन् । उनकै कुरालाई लिएर घरमा सधैं विवाद हुन्थ्यो । खेतीको समय भएकाले गाउँ सुनसान थियो । सधैं झै त्यो रात पनि किचकिच हुन थालेपछि उनले श्रीमतीलाई तीन किलोमिटर पर लगे अनि १० बजे राति धारिलो चक्कुले उनको हत्या गरे । ‘कचकच नगरेको दिन थिएन । उसले मेरो ‘जीना हराम’ गरिसकेकी थिई । त्यस दिन रिसको झोकमा मारी दिए । यति धेरै आवेगमा आए कि टाउको समेत छिनिएछ । होसमा आएपछि घर पुगे । गाउँलेहरू सुतेका थिए । भागूँ कि भन्ने विचार आयो तर त्यस्तो गरिनँ,’ आफताफले प्रहरी बयानमा भनेका छन्, ‘त्यसपछि टाउको कपडामा बेरेर साइकलको क्यारियरमा राखे अनि साइकल चढेर सिधै अत्मसर्मपणका लागि प्रहरी कार्यालय आएँ । मलाई जे सजाय हुन्छ भोग्न तयार छु ।’

हत्या गरिएकी गुलसनका ६ जना छोराछोरी छन् । उक्त घटनापछि उनीहरूको बिचल्ली भएको छ । पत्नी हत्याको आरोप लागेका मोहम्मद प्रहरी हिरासतमा छन् । स्थानीय बासिन्दाहरूका अनुसार ११ वर्षीय सुनिल खान, ८ वर्षीय सुशील खान, ७ वर्षीय तसलिम खान तथा छोरीहरू ४ वर्षीया बौरी खान, ३ वर्षीया सुष्मा खान र ३ महिनाकी बालिका आमाको हत्या गरेर बुबा प्रहरी खोरमा पुगेपछि अहिले मामा घरको शरणमा छन् । त्यस्तै आफताफकी कान्छी श्रीमती सलमा ८ महिनाकी गर्भवती छिन् । उनकी ४ वर्षीया छोरी सोनी खान पनि छिन् । घटनापछि उनीहरूसमेत अलपत्र परेका छन् ।

हत्याको कारण : नाजायज सम्बन्धको आशंका
उनीहरूबीच झगडा हुनुको प्रमुख कारण कमजोर आर्थिक अवस्था पनि थियो भने सौताको रिस त छँदै थियो । उनीहरूले मजदुरी गरी परिवार पाल्दै आएका थिए । त्यसमाथि गुलसनले सालीसँग पनि उठबस रहेको भन्दै श्रीमान्सँग कचकच गर्दै आएकी थिइन् । आफताफ सधैं त्यस्तो केही नभएको दाबी गर्थे । आफूले जेठी श्रीमतीलाई अनेकौं पटक सम्झाउने प्रयास गरेको उनको भनाइ छ ।

घटना भएको दिन बिहानै उनले जेठी श्रीमतीलाई विश्वास दिलाउने जुक्ति निकाले । त्यसका लागि धार्मिकस्थलमा गएर कसम खाने कुरा उनले बताए । कसैसँग पनि नजायज सम्बन्ध नभएको विश्वास दिलाउन बिहानै जेठी श्रीमतीलाई लिएर उनी भारतको बहराइच पुगे । त्यहाँस्थित धर्मिक स्थलमा आफताफले जेठी श्रीमतीलाई साक्षी राखेर कसैसँग आफ्नो नाजायज सम्बन्ध नरहेको कसम खाए । कसम खाएपछि उनले श्रीमतीलाई घर पठाउने प्रयास गरे तर उनी मानिनन् । सँगै जाने अड्डी कसेपछि दुवै जनासँगै गाडीमा घर फर्किए ।

खान दम्पती कोहलपुरमा उत्रिए । त्यति बेलासम्म रात परिसकेको थियो । ‘कसम खान जाने दिन बिहानै गोजीमा चक्कु बोकेको थिए । कसम खाइसकेपछि उसलाई (गुलसन) लाई घर पठाएर आफैं आत्महत्या गर्छु भनेको थिए, तर त्यस्तो भएन,’ आफताफले प्रहरी समक्ष भनेका छन्, ‘नेपालगन्जबाट घर फर्कने क्रममा बाटोमा पानी पर्न थाल्यो । उसले मलाई छोडेर हिँडी । साइकलमा बसाउन खोज्दा मान्दै मानिन । अझै पनि उसले मलाई विश्वास नगरेपछि रिस उठ्यो । अति नै भएपछि गोजीमा रहेको चक्कुले हानेर मारे ।’

जेठी श्रीमतीसँगको विवादले आफू कायल भैसकेकाका कारण उक्त घटना घटेको आफताफको दाबी छ । चार वर्षअघि श्रीमतीसँगको विवादपछि उनले आत्महत्या गर्न सल्फास नामको विष सेवन गरेको कोहलपुर प्रहरीले जनाएको छ । त्यति बेला उनी उपचारपछि बाँच्न सफल भएका थिए । १२ वर्षको सानै उमेरमा आफताफ र गुलसनबीच विवाह भएको थियो । सुरुमा उनीहरूको सम्बन्ध राम्रै थियो । सन्तान जन्मदै गएपछि उनीहरूबीच विवाद सुरु भएको हो ।

सानै उमेरमा विवाह गरेका कारण गुलसनले २७ वर्षकै उमेरमा ६ वटा सन्तान जन्माइसकेकी थिइन् । आफताफका अनुसार गुलसन बढी शंकालु थिइन् । कसैसँग बोलेको देखे पनि गालीगलौज गर्दै झगडा गर्थिन् । ‘कोहीसँग बोल्यो कि साँझ घरमा झगडा गर्थिन् । जति सम्झाउँदा पनि मेरो केही लागेन । श्रीमतीसँगको विवाद यति धेरै भयो कि घाँटीसम्म पुगिसकेको थियो । थुप्रै पटक आत्महत्या गर्न खोजे तर कालले मलाई पत्याएन । घटना हुने दिन भारतमै गाडी वा ट्रेन आएका बेला त्यसमा हाम फालेर आत्महत्या गर्ने योजना बनाएको थिएँ, तर गुलसनले साथ नछोडेपछि मेरो योजना सफल भएन,’ आफ्नो बयानमा खानले भनेका छन्, ‘उसलाई मार्ने मेरो कुनै योजना थिएन, तर कसम खाँदा पनि विश्वास नगरेपछि मेरो धैर्यले काम गर्न छाड्यो । मेरै हातबाट उसको मृत्यु लेखेको रहेछ, यस्तो भयो । मेरा कारणले छोराछोरी पनि अलपत्र परे ।’

कान्छी श्रीमती ल्याएपछि जेठीसँग आफताफको बढी खटपट हुने गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् । उनीहरूका अनुसार बेडुवाको परिवारमा विवाद नभएको दिन थिएन । हरेक राति झगडा हुन्थ्यो । नियमित कुटाकुट तथा झैझगडाले छरछिमेकहरू पनि दिक्क भैसकेका थिए । प्रहरी हिरासतमा रहेका बेडुवाले आफूले ठूलो गल्ती गरेको स्वीकार गर्दै सजायका लागि तयार रहेको बताएका छन् । प्रहरीका अनुसार उनीविरुद्व कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने तयारी भैरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भने जारी राखेको छ ।

अहिले आफताफमाथि कडा कारबाहीको माग गर्दै कोहलपुर र नेपालगन्जमा प्रदर्शन समेत भैरहेको छ । महिला अधिकारबादीहरूले टाउको छिनाएर गरिएको श्रीमतीको हत्यालाई क्रूर हत्याको संज्ञा दिँदै हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । प्रहरीका अनुसार आफताफ मजदुरी गरेर जीवनयापन गर्ने सामान्य नागरिक हुन् । श्रीमतीलाई मार्ने योजना नभए पनि रिस र आवेगले यो अप्रिय घटना भएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com