नेपालमा बालबालिकालाई दिने खोप पुसको अन्तिमबाट आउन थाल्ने


प्रकाशित मिति : आश्विन २, २०७८ शनिबार

विद्यालयहरूमा भौतिक उपस्थितिमा तत्कालै अध्यापन सुरु गर्ने या नगर्ने विषयमा बहस चलिरहँदा १२ देखि १८ वर्षको उमेर समूहका बालबालिकालाई लक्षित गरिएका खोप चाँडोमा आगामी पुस मसान्तभित्र आइपुग्नसक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

उक्त उमेर समूहका व्यक्तिहरूलाई खोप दिन कार्य योजना बनाइएको र त्यसअनुसार खोप खरिदको प्रक्रिया अगाडि बढाइएको सरकारी भनाई छ । नेपालमा अहिलेसम्म १८ वर्ष भन्दा बढीको उमेर समूहलाई तीन प्रकारका कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराइदै आएको छ।

आष्ट्राजेनेका (कोभिशिल्ड) , भेरोसेल र जोन्सन एण्ड जोन्सनका खोपहरु नेपालमा वितरण गरिएका छन् । जसमध्ये सबैभन्दा धेरै भेरोसेल वितरण गरिएको छ ।

अहिलेसम्म नेपालमा झण्डै करोड डोज कोभिडबिरुद्धको खोप वितरण भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै नेपालमा भित्रने बताइरहेका छन्।

पुस मसान्तसम्म बालबालिकाहरुलाई लगाउन मिल्ने त्यस्ता खोपहरू ल्याउने योजना रहेका्े र अहिले १८ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिलाई नै सकेसम्म चाँडो र धेरै भन्दा धेरै खोप उपलब्ध गराउने हिसाबले केन्द्रित भएर काम गरिरहेको सरकारी अधिकारीको भनाई छ ।

सरकारले कोभ्याक्स सुविधा अन्तर्गत मोडेर्ना र फाइजरका खोप खरिद् सम्बन्धी सम्झौता गरेको् छ भने सुरुमा मोडेर्नाको खोप आइपुग्ने अपेक्षा गरिएको छ ।

मोडेर्ना खोपको खरिदका लागि नेपाललाई ७ अर्ब ९४ करोड रुपियाँ भन्दा बढी आर्थिक सहायता उपलब्ध गराएको विश्व ब्याङ्कले गएको अगस्टमा मोडेर्ना खोप सन् २०२२ को मार्चमा आइपुग्ने अपेक्षा गरिएको बताएको थियो। उक्त खोप १२ देखि १७ वर्षको उमेर समूहका लागि पनि प्रभावकारी र सुरक्षित रहेको बताइन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com