अमेरिकामा ६ वर्षदेखि सम्पर्कविहीन धिरेन्द्र जंग शाहको खोजीमा सहयोग गर्न दूतावासको आग्रह
प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार
अमेरिकामा ६ वर्षदेखि परिवारको सम्पर्कमा नरहेका नेपाली नागरिक धिरेन्द्र जंग शाहको खोजीमा सहयोग गर्न वासिङ्टनस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।
दूतावासले सार्वजनिक गरेको सूचनाअनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–९, विशाल नगर स्थायी ठेगाना भएका शाह लामो समयदेखि सम्पर्कविहीन रहेको जानकारी उनको परिवारले दिएको हो। सूचनामा उनको उमेर ३० वर्ष उल्लेख छ।
परिवारबाट जानकारी प्राप्त भएपछि सम्बन्धित प्रहरी कार्यालयलाई खोजीका लागि अनुरोध गरिएको र निरन्तर समन्वय भइरहेको दूतावासले जनाएको छ। तर, उनको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको सूचनामा उल्लेख छ।
शाह डाइभर्सिटी भिसामार्फत विक्रम संवत् २०७१ मा पहिलो पटक अमेरिका आएका थिए। उनी २०७३ सालमा नेपाल गएर पुनः अमेरिका फर्किएको र त्यसपछि विगत ६ वर्षदेखि सम्पर्कविहीन रहेको दूतावासको सूचनामा जनाइएको छ। अमेरिकामा उनी पछिल्लो पटक कहाँ बस्दै आएका थिए भन्ने विवरण भने सूचनामा खुलाइएको छैन।
दूतावासले अमेरिकामा रहेका नेपाली समुदाय तथा संघसंस्थालाई शाहको खोजीमा सहयोग गर्न अनुरोध गरेको छ। उनीबारे कुनै महत्त्वपूर्ण जानकारी भए यथाशीघ्र दूतावासलाई उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
जानकारी दिन चाहनेले दूतावासको इमेल [email protected] वा [email protected] मा सम्पर्क गर्न सक्नेछन्।





