मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा विवादित रिफ्लेक्टिङ पुलबाट ट्रम्पको अन्तिम सम्बोधन


प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : म्याट राउर्के/एपी-रासस

अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले लिंकन मेमोरियल रिफ्लेक्टिङ पुलमा आफ्नो अन्तिम चुनावी सम्बोधन गर्ने भएका छन्। लामो समयदेखि ढिलाइ, अत्यधिक खर्च र विवादमा परेको यस मर्मत परियोजनालाई उनी पुनः चर्चामा ल्याउन खोज्दै छन्।

राष्ट्रपति ट्रम्पले पूर्वीय समय अनुसार दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

आइओवामा आयोजित चुनावी सभाका लागि एयरफोर्स वानबाट ओर्लिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “उक्त स्थानमा सम्बोधन गर्नाले त्यो ठाउँ कति सुन्दर छ भन्ने कुरा प्रस्ट हुनेछ।”

रिपब्लिकन पार्टीले कंग्रेसमा आफ्नो बहुमत जोगाइराख्न संघर्ष गरिरहेको बेला, ट्रम्पले आफ्ना समर्थकहरूलाई आकर्षित गर्न महत्वपूर्ण राज्यहरूको भ्रमण गर्नुको साटो वासिङ्टनस्थित यो विवादित मर्मत स्थललाई रोजेका छन्।

रिफ्लेक्टिङ पुलको मर्मत सम्बन्धी विवाद गत अप्रिल महिनाबाट सुरु भएको थियो। ट्रम्पले यसको रङ परिवर्तन गरी आफ्ना परिचित ठेकेदारमार्फत केही दिनभित्रै करिब १५ लाख डलरमा काम सम्पन्न गर्ने दाबी गरेका थिए। तर, काम तोकिएको समयभन्दा करिब तीन महिना ढिलो हुनुका साथै बजेट पनि प्रारम्भिक अनुमानभन्दा १० गुणाभन्दा बढीले बढेको थियो।

जुन महिनामा काम सकिएको घोषणा गरिए तापनि केही समयमै पोखरीमा लेउ जम्यो र यसको “अमेरिकन-फ्ल्याग ब्लू” लाइनिङ उप्किन थाल्यो। त्यसपछि जुलाईको मध्यतिर पुनः पोखरी खाली गरेर मर्मत सुरु गरिएको थियो।

ट्रम्पले यस समस्याको दोष तोडफोड गर्नेहरू माथि थुपारेका छन्, तर अधिकारीहरू तथा प्राविधिकहरूले भने कमजोर निर्माण कार्यका कारण यस्तो समस्या आएको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com