लकडाउनमा बालबालिकाको तस्करी : ५ हजारको लालचमा १३ बर्षका बालकलाई दलालको जिम्मा
प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार
भारतको बिहारका पंकजलालका छोरा जम्मा १३ बर्षका भए । लकडाउनको कारण पंकजलालको ठेला चलाउनेकामबाट आम्दानी हुन छोड्यो । उनले ठेला चलाउनु र नचलाउनुमा कुनै फरक परेन । त्यसपछि उनले आफ्नो छोरालाई घरदेखि सयौँ किलोमिटर टाढा राजस्थानमा एउटा चुराको कारखानामा काम गर्न पठाउने निर्णय गरे, एक दलालको भरमा ।
पंकजलालको घरमा खाने केही थिएन । भोको पेट, तीन छोरा र दुई छोरीको अनुहार सम्झिए उनले । र दलाललाई फोनमा भने -‘मलाई कुनै काम दिनुपर्यो ।’
उसले भन्यो – ‘कामको लागि बच्चा चाहिएको छ, ठूलो मान्छे होइन ।’
‘सानो बच्चालाई काममा पठाउँदा डर लागेन? बच्चाले जाँदिन भनेन ?’ पत्रकारको प्रश्नमा पंकज भक्कानिदै रुन थाले ।
दलालले पंकजको छोराले काम सिकेपछि महिनाको पाँच हजार घरमा पठाईदिने आश्वासन दिएको थियो ।
लकडाउनको कारण आवातजावतमा रोक लगाएपनि दलालले पंकजको छोरासहित दुई दर्जन बालबालिकाहरुलाई एउटा बसमा राखेर बिहारदेखि जयपुरसम्म लैजान सफल भयो ।
तर, चुरा कम्पनी पुग्नु पहिले बालबालिका राखेर लगेको बस जयपुरमा समातियो । पंकजको छोरा अहिले जयपुरको बालगृहमा छन् । क्वारेन्टाइन पूरा भएपछि बाँकी बच्चाहरूसँगै पंकजका १३ बर्षिय छोरा पनि आफ्नो घर फर्कने छन् ।
पंकजले भने -‘मैले ठूलो गल्ती गरेँ, दिमागले काम गरेन, पठाएँ । म फेरि यस्तो गल्ती कहिले गर्ने छैन । बरु भोकै बस्छु । तर बच्चालाई बाहिर कहिल्यै पठाउने छैन ।’
पंकजमाथि अहिले बाल सुधार समिति, स्थायीय गैर सरकारी संस्था लगायतले निगरानी गरिरहेको छ ताकी उनले फेरि आफ्ना कुनै पनि बालबालिकालाई दलालको लोभमा परेर कामका लागि पठाउने प्रयास नगरुन् ।
बालश्रम भारतमा एक प्रमुख समस्या हो । २०११ को जनगणना अनुसार भारतमा पाँचदेखि १४ वर्षसम्मका करिब २६ करोड बच्चाहरू मध्ये एक करोड बालबालिकालाई मजदूरी गर्न बाध्य पारिएको तथ्य रहेको छ ।
उत्तरप्रदेश र महाराष्ट्रपछि बिहारमा सबैभन्दा बढी (४,५१,५९०) बाल श्रमिकहरू थिए ।
नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार बिहारमा बाल तस्करी निकै व्याप्त रहेको छ । सन् २०१८ मा त बिहारमा हरेक दिन एक बालकलाई तस्करको चंगुलबाट मुक्त गरिएको थियो ।

गरीबी र जनचेतनाको अभावका कारण बालबालिका बेचबिखनका गर्न कोरोना महामारीपछिको लकडाउन तस्करहरुका लागि झनै अनुकूल परिस्थिति बनेको देखिन्छ ।
गत बर्षको तुलनामा यो वर्ष मानव तस्करीका घटनाहरू दोब्बर भएका छन् । गत महिनामा ठूलो संख्यामा तस्करीका घटना भएका छन् । गाउँ खाली भएको छ, रेल नभएपनि बच्चाहरुलाई मानव तस्करहरूले बसबाट भगाएर लैजान नयाँ तरिका निकालेका छन् । बेरोजगारीबाट हैरान आमा बुबा सानोतिनो आम्दानी र छाक टार्नका लागि आफ्ना बच्चा दिन तयार हुन्छन् ।
लकडाउन हुनुभन्दा पहिले पनि राजस्थानको एक चुरा फ्याक्ट्रीमा काम गर्न बिहारबाट बालबालिकाहरुको तस्करी भैरहेको थियो । मानव तस्करहरुलाई पक्राउ गर्न निकै ठूलो चुनौती छ । केही गरी पक्राउ परेपनि अक्सर उनीहरु पैसादिएर छुट्छन् ।
विगतका वर्षहरुमा केही तस्करहरुलाई समाज कल्याण विभाग, श्रम विभाग, पुलिस र गैरसरकारी संस्थाहरुबीचको समन्वयमा पक्राउ गरिएको थियो । जसको कारण तस्करी रोकिएको एक रिपोर्टमा बताईएको थियो ।
सन् २०१६ मा बिहारबाट जयपुर बालबालिका बेचबिखन गर्ने एक जना तस्कर पक्राउ परेको थियो र उसलाई तीन बर्षपछि आजीवन कारावासको सजाय सुनाइएको थियो । तर पछि मुद्धादर्ता गर्ने परिवारलाई नै अपहरण गरियो ।

यसले देखाउँछ कि तस्करहरू निकै नै शक्तिशाली बनेका हुन्छन् । उनीहरूसँग सुरक्षा छ । र तिनीहरूको जालो तोड्न धेरै गाह्रो छ ।
तस्करीको अनुभवले बालबालिकाको जीवनमा एक गहिरो नकारात्मक प्रभाव छोड्न सक्छ ।
बिहारमा बस्ने १५ वर्षीय मुकेश जयपुरको चुरा कारखानामा सात महिना काम गरेर आफ्नो घर फर्कन सफल भए ।
मुकेश भन्छन् – ‘बुबालाई टीबी भएको छ । त्यसकारण मजदूरी गर्न सक्नुहुन्न । कर्जा तिर्नुपर्यो ।’
जब तस्करहरु उनको घरमा आए । उनी काम गर्न जान राजी भए । तर यो निर्णय गलत थियो । कारखानामा बिहान सात बजेबाट राती १२ बजेसम्म काम गर्नु पर्दथ्यो । खाना खिचडी मात्र दिन्थे । धेरै गाली मात्रै गर्दथेँ ।
महिनामा २५ सय रुपैयाँ दिने भनेका थिए । तर एक हजार पनि दिएनन् ।
पंकजलालको छोरा जस्तै मुकेश पनि तस्करको हातपर्नु पहिला स्कुल जाने गर्दथे । उनका पाँच भाई बहिनी छन् । अहिले सबै भाईबहिनी घरमै छन् । दुई बहिनीको विवाह १८ वर्ष नपुग्दै भएको थियो ।
लकडाउनको कारण स्कुलहरु बन्द गरिंदा यस्ता गरीब परिवारका बच्चाहरूको जीवन सँधैभरि अन्धकारमा धकेलिनसक्छ । किनभने जब एक पटक उनीहरूको स्कूल छुट्छ त्यसपछि फर्किन निकै गाह्रो हुन्छ । उनीहरु श्रमबजारमा लागिसकेका हुन्छन् ।
(रिपोर्टमा प्रयोग भएका सबै तस्वीर सांकेतिक हुन् ।)






