२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अध्यागमनमा कडाइ गरेपछि अमेरिकामा लागूऔषध अनुसन्धान ३१% ले प्रभावित

तस्वीर : आइस

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले सामूहिक देशनिकालालाई मुख्य प्राथमिकता दिँदा घातक लागूऔषध ‘फेन्टानिल’ सम्बन्धी अनुसन्धानमा उल्लेख्य गिरावट आएको छ। डीएचएसको अफिस अफ इन्स्पेक्टर जनरलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, अनुसन्धान एजेन्टहरूको प्राथमिकता परिवर्तन हुँदा फेन्टानिल अनुसन्धानका घण्टा घटेका हुन्।

इमिग्रेशन एन्ड कस्टम्स आइस अन्तर्गतको प्रमुख अनुसन्धान शाखा होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन्सका एजेन्टहरूले लागूऔषध तस्करी, मानव तस्करी र अन्तर्राष्ट्रिय गिरोहविरुद्ध काम गर्ने गर्छन्। तर पछिल्लो समय उनीहरूलाई अध्यागमन कारबाहीमा बढी खटाइएपछि फेन्टानिलसम्बन्धी आपराधिक अनुसन्धानमा बिताइने समय ३१ प्रतिशतले घटेको छ। अर्कोतर्फ, अध्यागमन कार्यान्वयनमा खर्च गरिएको समय ८०० प्रतिशतभन्दा बढीले बढेको छ।

प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०२४ मा एचएसआइ एजेन्टहरूले अध्यागमन अनुसन्धानमा करिब २ लाख ७ हजार घण्टा बिताएका थिए भने आर्थिक वर्ष २०२५ मा यो समय बढेर करिब २० लाख घण्टा पुगेको छ।

यसै अवधिमा फेन्टानिल अनुसन्धानको समय भने ८ लाख २४ हजार घण्टाबाट घटेर ५ लाख ७० हजार घण्टाभन्दा कममा सीमित भएको छ। केही क्षेत्रीय कार्यालयहरूमा एजेन्टहरूले ९९ प्रतिशत समय अध्यागमन कार्यमै बिताउँदा फेन्टानिल अनुसन्धानका लागि क्षमता नै बाँकी नरहेको प्रतिवेदनमा उल्लेख छ।

पूर्व एचएसआइ एजेन्ट एरिक बालियटका अनुसार, प्रशासनले एकातिर फेन्टानिललाई ठूलो सुरक्षा चुनौती मान्ने तर अर्कोतिर एजेन्टहरूलाई अध्यागमनतर्फ मोड्ने नीति लिनु विरोधाभासपूर्ण छ। अनुसन्धान घटेपछि आपराधिक सञ्जालहरूलाई आफ्ना गतिविधि फैलाउन सहज हुने विज्ञहरूको तर्क छ।

यसका साथै प्राथमिकता परिवर्तनको असर बालबालिकाको यौन शोषण, मानव बेचबिखन तथा आतङ्कवादी वित्तपोषण सम्बन्धी अनुसन्धानमा समेत परेको पाइएको छ। इन्स्पेक्टर जनरलको प्रतिवेदनपछि Iआइसले आफ्ना सिफारिसहरू स्वीकार गर्दै सन् २०२७ को जुनसम्ममा कर्मचारी व्यवस्थापन र प्राथमिकताहरूको पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।