अक्टोबरसम्म भ्याक्सिन आउन गाह्रो भएपनि असम्भव छैन : फाउची
प्रकाशित मिति : भाद्र १८, २०७७ बिहीबार
अमेरिकाका बरिष्ठ कोरोना विशेषज्ञ तथा ह्वाइट हाउसका कोरोनाभाइरस टास्क फोर्स सदस्य एन्थोनी फाउचीले अक्टोबरसम्म कोरोना भाइरसको भ्याक्सिन तयार हुने सम्भावना गाह्रो देखिएपनि असम्भव भने नभएको बताएका छन् । नोभेम्बर डिसेम्बरसम्ममा आमरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन तयार हुने अधिकांशको विश्वास रहेको उनले बताएका छन् ।
विश्वलाई कहिलेसम्म कोरोनाबिरुद्ध भ्याक्सिन प्राप्त होला ? पत्रकारको प्रश्नमा फाउचीले भने – ‘अक्टोबरसम्म भ्याक्सिन आउने अनुमान गरिएको छ । तर अक्टोबरमै भ्याक्सिन आउनेजस्तो मलाई भने लाग्दैन ।’
यसैबीच अमेरिकाको सीडीसीले नोभेम्बर १ सम्म भ्याक्सिन वितरणका लागि तयारी पूरा गर्न ट्रम्प प्रशासनको सबै राज्यलाई पत्राचार गरेको छ । राज्यका गभर्नरहरुलाई पठाइएको पत्रमा भ्याक्सिन वितरण केन्द्रहरुलाई नोभेम्बर १ अगाडि नै स्वीकृति प्रदान गर्न भनिएको छ ।
राष्ट्रपति चुनावको पूर्वसन्ध्यासम्म भ्याक्सिन वितरणका लागि सबै पूर्वाधार तयार पार्न भनिएको हो । यसबाट अमेरिकाको संघीय सरकार यसबर्षको अन्त्यसम्ममा भ्याक्सिन लगाउने कार्यको सुरुवात गर्नमा उत्सुक देखिएको छ ।
भ्याक्सिन वितरण केन्द्रहरुमा भवनको स्वीकृतिका लागि अवरोध नगर्न सीडीसीले प्रोत्साहित गरेको छ । टेक्सासमा मुख्यालय रहेको कम्पनीले अमेरिकामा कोरोना भाइरसबिरुद्धको उपलब्ध भइसकेपछि वितरणका लागि जिम्मा लिएको छ ।

अमेरिकाको खाद्य तथा औषधी नियमक निकाय एफडीएका प्रासनिक कमिश्नर स्टेफन हानले भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षण पूरा हुनु अगाडि नै भ्याक्सिनलाई आपतकालिन स्वीकृति प्रदान गर्न सकिने बताएका छन् । एफडीएले आगामी अक्टोबर २२ मा भ्याक्सिनको विकाश, स्वीकृति र लाइसेन्सका बारेमा छलफल गर्न बैठक राखेको छ ।
आगामी अक्टोबरभित्र २० लाख डोज भ्याक्सिन उपलब्ध हुने सम्भावना देखिएको छ भने नोभेम्बरको अन्त्यसम्ममा २ करोड डोजसम्म भ्याक्सिन उपलब्ध हुने सम्भावना रहेको छ । अमेरिकामा फाइजर र मोडेर्नाले जुलाईको अन्तिमसातादेखि भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षण सुरु गरेका थिए भने बेलायतको आष्ट्राजेनेकाले आजदेखि अमेरिकामा क्लीनिकल परीक्षण सुरु गरेको छ ।






