बेरोजगारी विमा रकम लिन हुने र नहुने बच्चा हेर्नुपर्ने अभिभावकबारे लेबर डिपार्टमेन्टबाट स्पष्ट
प्रकाशित मिति : भाद्र १७, २०७७ बुधबार
कोरोना महामारीका कारण विद्यालयहरु नखुल्दा घरमा बच्चाको हेरचाह गर्नुपर्ने अवस्थाकाकारण काम छाडेका वा काममा जान नसकेका बुबाआमाले बेरोजगारी विमा रकम लिनसक्नेबारे डिपार्टमेन्ट अफ लेवरले थप स्पष्ट पारेको छ । बच्चाहरु घरमा बस्नुपर्ने अवस्थाका कारण झण्डै २२ प्रतिशत बुबाआमाले आफ्नो कामको अवधि घटाउन बाध्य भएका छन् भने अरु ९ प्रतिशत बुबाआमाहरु काम छाड्न बाध्य भएका छन् ।
गत मार्चमा पारित भएका दुईवटा राहत नीति अनुशार बच्चा हेर्नुपर्ने अवस्थाका बुबाआमाले तलबी विदा लिन पाउने वा काम छाड्नुपर्ने अवस्था हुँदा बेरोजगारी विमा रकम लिन पाउने अधिकार सुनिश्चित गरेको थियो । नयाँ शैक्षिक शत्रहरु सुरु हुँदै गर्दा कतिपय विद्यालयहरुले घरबाटै अनलाइन पठनपाठनको योजना बनाएका छन् ।
फेमिली फस्ट कोरोना भाइरस रेस्पोन्स एक्ट अनुशार स्कुल प्रणाली पूर्णरुपमा बन्द भएको र कक्षाहरु अनलाइनमात्र लिइएको अवस्थामा कामदारहरु १२ हप्तासम्म तलबी विदाका लागि योग्य हुन्छन् । त्यस्तै केयर्स ऐन अन्तरगत बच्चा हेर्नुपर्ने भएकाले कामको घण्टा कम भएमा वा काम छाड्नुपरेमा महामारी बेरोजगारी सहायताका लागि योग्य हुन्छन् ।
तर १२ हप्तासम्मको तलबी विदाको प्रावधान ५ सय भन्दा कम कामदार भएका केही निजी तथा सार्वजनिक रोजगारदाताको हकमामात्र लागु हुनेछ । त्यस्तै ५० भन्दा कम कामदार भएका साना विजनेशहरुलाई बच्चा हेर्नका लागि तलबी विदा दिनुनपर्ने छुट समेत छ । तर त्यस्ता विजनेशले तलबी विदा दिंदा विजनेशलाई समस्या पर्ने पुष्टी गर्न सक्नुपर्छ । त्यस्तै केही स्वास्थ्य सेवा प्रदायक र आपतकालिन सेवाका कामदारहरु पनि बच्चा हेर्न तलवी विदाका लागि योग्य हुँदैनन् ।
यदि तलबी विदाका लागि योग्य नभएको खण्डमा र काम छाड्नैपर्ने भएमा महामारी बेरोजगारी सहायताका लागि योग्न हुनसकिन्छ । घरबाटै काम गर्नसक्ने जागिर भएका व्यक्ति समेत बच्चा हेर्नुपर्ने अवस्थाका कारण यो सुविधा लिन योग्य हुनसक्नेछन् ।
केहीदिन मात्र भौतिक रुपमा कक्षा संचालन हुने तर बाँकी समय अनलाइन कक्षामात्र हुनेगरी विद्यालय बन्द भएको अवस्थामा समेत तलबी विदा वा पीयुएका लागि योग्य हुनसकिनेछ । किनभने कतिपय विद्यालयहरुले यस्तो हाइब्रिड प्रणाली समेत लागु गरेका छन् ।
त्यस्तै विद्यालयहरु पूर्णरुपमा खुलेको तर विद्यार्थीहरुलाई घरमै बसेर अनलाइन शिक्षा लिन सकिने विकल्प प्रदान गरिएको सन्दर्भमा अभिभावकले घरबाटै अनलाइन शिक्षाको विकल्प रोजेर बच्चालाई विद्यालय नपठाएको खण्डमा भने तलबी विदा वा पीयुएका लागि योग्न नहुने जनाइएको छ । स्कुल खुलिसकेपछि पनि बेरोजगारी विमा रकम वा पीयुए लिइरहेको भएमा उनीहरुले उक्त रकम सरकारलाई फिर्ता गर्नुपर्ने वा जालसाजी र अपराधका लागि जरिवाना तिर्नुपर्ने डिपार्टमेन्ट अफ लेवरले स्पष्ट पारेको छ ।






