जाडोयाममा कोरोनाका कारण ८५ हजार बेलायतीको ज्यान जान सक्ने चेतावनी


प्रकाशित मिति : भाद्र १४, २०७७ आईतबार

नेपाली लिङ्क

बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस (कोभिड–१९) का कारण स्थिति झन् भयावह हुने चेतावनी दिएको छ । सेज वैज्ञानिक समूहको प्रतिवेदनमा ८५ हजार जनासम्मको ज्यान जान सक्ने उल्लेख गरिएको हो ।

स्थानीय सञ्चारमाध्यमले फेला पारेको एक गोप्य प्रतिवेदनमा कोभिड नियन्त्रण गर्न सरकारलाई विभिन्न सुझावसमेत दिइएको छ । तर, विद्यालयहरू भने खुलाइराख्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

उक्त दस्तावेज बीबीसी न्युज नाइटले फेला पारेको हो । सो समूहले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र स्थानीय निकायहरूलाई जाडोयामका केही महिना शवगृह व्यवस्थापन, दाहसंस्कार र अन्य सेवाबारे पूर्वतयारी गर्न सजिलो होस् भन्ने उद्देश्यले सरकारका लागि प्रतिवेदन बनाएको हो ।

दस्तावेजको मुख्य अनुमानमा विद्यालय खुला रहनेछन् र सरकारको ट्रेसिङ, आइसोलेसन र क्वारेन्टाइन परिधि कोभिड संक्रमण रोक्न घरपरिवार बाहिर ४० प्रतिशतमात्र प्रभावकारी हुने उल्लेख छ ।

प्रतिवेदनले जुलाई २०२० देखि मार्च २०२१ सम्मको सबैभन्दा बढी मृत्युलाई अड्कल गरेको छ ।

जाडोयाममा अन्य रोग भएका बिरामीसमेत मर्ने प्रतिवेदनको आकलन छ । यसले इंग्ल्यान्ड र वेल्समा कोभिडका कारण ८१ हजार जना र कोभिडबाहेक अन्य रोगले २७ हजार मर्न सक्ने जनाएको छ ।

स्कटल्यान्डमा २ हजार ६ सय र नर्दन आयरल्यान्डमा १ हजार ९ सय जनाको कोभिड–१९ का कारण मृत्यु हुन सक्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक कार्ल हेनेगनले उक्त दस्तावेजमा गरिएका अनुमान विश्वास गर्न नसकिने खालका रहेको र यसले पहिलो संक्रमण लहरबाट केही नसिकिएको देखाएको बीबीसीलाई प्रतिक्रिया दिएका छन् ।

यसअघि गत जुलाईमा बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने खतरासँग जुध्न एउटा सार्वजनिक छानबिन गराउन आह्वान गरेका थिए ।

२७ जना विशेषज्ञले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले अपनाएका कदमहरूमा कमजोरी रहेको जनाउँदै उनीहरूले इंग्ल्यान्डमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस), पब्लिक हेल्थ र सामाजिक सुरक्षाको खण्डीकरण, केन्द्र सरकारले स्थानीय निकाय तथा ब्रिटेनका अन्य प्रदेशहरूसँग नजिक रहेर काम गर्न नसक्नु र समयमै आवश्यक वस्तु तथा सेवा किन्न नसक्नु मुख्य कमजोरी रहेको निष्कर्ष निकालेका थिए ।

साथै बेलायत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सको अनुरोधमा तयार गरिएको एउटा प्रतिवेदनले यो जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर आए करिब १ लाख २० हजार जनाको मृत्यु हुन सक्ने चेतावनी दिएको थियो ।

बेलायत सरकारका प्रवक्ताले शुक्रबार चुहाइएको प्रतिवेदनसम्बन्धमा प्रतिक्रिया दिंदै जिम्मेवार सरकारले सबैभन्दा कठिन अवस्थालाई मध्यनजर गरेर योजना बनाइरहेको बताएका छन् । सरकार भविष्यवाणी वा अनुमानका लागि नभई सम्भाव्य घटनासँग जुध्न तयारी अवस्थामा समेत छ भन्ने कुरामा कटिबद्ध रहेको ती प्रवक्ताको भनाइ छ ।

सम्भावित दोस्रो लहरको संक्रमण रोक्ने तयारीका लागि सरकारले एनएचएसलाई ३ अर्ब पाउन्ड दिने जनाइएको छ । बेलायतमा कोरोना भाइरस संक्रमित संख्या ३ लाख ३० हजार बढी छ भने ४० हजार बढीको ज्यान गइसकेको छ ।

बेलायतको बर्मिङघम विश्वविद्यालयका औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल विभिन्न चेतावनीबीच सर्वसाधारण आफू पनि सतर्क रहनुपर्ने सुझाउँछन् ।

विभिन्न मुलुकमा कोभिड–१९ खोप विकासको चरणमा रहेका र औषधिसमेत उत्पादन भई नसकेको अवस्थामा खासगरी सामाजिक दूरी कायम, हाइजिन मेन्टेन र साबुन–पानीले निरन्तर हात धुन उनको सुझाव छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com