न्युयोर्कमा एकसयभन्दा कम पाइरहेकाहरुले पनि पाउनेछन् अतिरिक्त साप्ताहिक ३ सय


प्रकाशित मिति : भाद्र ११, २०७७ बिहीबार

काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ३ सय डलर दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश न्युयोर्कमा पनि कार्यान्वयनको चरणमा रहेको छ । न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरले संघीय आपतकालिन व्यवस्थापन एजेन्सीबाट स्वीकृत पाइसकेकाले अहिले कार्यान्वयनको चरणमा रहेको छ ।

न्युयोर्कमा पार्ट टाइम काम गरेका कारण वा कर तिरेका कारण एकसयभन्दा कममात्र बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताबाट प्राप्त गरिरहेकाहरु समेत अतिरिक्त ३ सय डलर प्राप्त गर्न योग्य हुने डिपार्टमेन्ट अफ लेवरले स्पष्ट पारेको छ । न्युयोर्कमा बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकम पाइरहेका हरेक व्यक्ति यो रकमका लागि योग्य हुनेछन् ।

अतिरिक्त साप्ताहिक ३ सय डलरका लागि न्यूनतम १ सय डलरको मापदण्ड तोकिएको छ । न्युयोर्कका सन्दर्भमा बेरोजगारी विमाको न्यूनतम आधारदर १०४ डलर र महामारी बेरोजगारी सहायता रकमको आधारदर १८२ डलर भएकाले सबै आवेदकहरु अतिरिक्त साप्ताहिक ३ सय पाउने मापदण्डभित्र पर्ने जनाइएको छ ।

उदाहरणका लागि यदि कोही आवेदकले महामारी बेरोजगारी सहायता रकमको न्यूनतम १८२ डलर पाइरहेको छ भने उसले एकदिन पार्टटाइम काम सुरु गरेमा उसले पाउने रकम १३६ डलर ५० सेन्टस हुन्छ । दुईदिन पार्टटाइम काम सुरु गरेमा उसले पाउने रकम ९१ डलर हुन्छ । तीनदिन पार्टटाइम काम सुरु गरेमा उसले पाउने रकम ४५ डलर ५० सेन्टस हुन्छ भने चारदिन काम गरेमा उक्त व्यक्ति महामारी बेरोजगारी सहायताका लागि योग्य हुँदैन ।

यो अवस्थामा तीनदिन काम गरेको कुनै व्यक्तिले साप्ताहिक ४५ डलर ५० सेन्टस महामारी बेरोजगारी सहायताका रुपमा पाइरहेको छ भने उक्त व्यक्ति अतिरिक्त ३ सय डलरका लागि पनि योग्य हुनेछ । तर संघीय सरकारका अन्य मापदण्ड समेत पूरा गर्नुपर्ने भएमा डिपार्टमेन्ट अफ लेवरले आवदेकहरुलाई यसबारे सम्पर्क गरेर जानकारी दिने बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com