कोरोना राहत प्याकेजबारेको छलफल पुन: सुरु गर्न पेलोसीसमक्ष ह्वाइटहाउसको सम्पर्क


प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार

कोरोना राहत प्याकेजबारे झण्डै तीनसातादेखि डेमोक्रेटिक र रिपब्लिकन नेताहरुबीच सम्पर्क नभएको अवस्थामा ह्वाइट हाउसले यसबारेको वार्ता सुरु गर्न हाउस स्पीकर न्यान्सी पेलोसीलाई पुन : सम्पर्क गरेको छ । गत अगस्त ७ पछि यसबारे दुबैपक्षबीच कुनै छलफल हुन सकेको छैन ।

अगस्त ७ को वार्ता असफल भएको भोलिपल्टै राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै काम गुमाएकाहरुलाई संघीय कोषबाट साप्ताहिक ३ सय दिने घोषणा गरेका थिए । त्यसपछि कोरोना राहत बारेको वार्ताका लागि अझ दुरी बढेको थियो ।

बुधबार ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोजले आफूहरुका तर्फबाट पेलोसीलाई सम्पर्क गरिएको बताएका छन् । काम गुमाएकाहरुलाई सरकारले प्रदान गरेको साप्ताहिक ६ सयको म्याद समाप्त भएपछि डेमोक्र्याट्सहरुले यसको अवधि थप्नुपर्ने अडान नछाडेपछि वार्तामा अवरोध उत्पन्न भएको थियो ।

ह्वाइट हाउसले एक ट्रिलियन डलरको प्याकेज ल्याउनुपर्ने बताएको छ । तर डेमोक्र्याट्सहरु झण्डै साढे तीन ट्रिलियनको राहत प्याकेजका पक्षमा छन् । रिपब्लिकनहरु एक ट्रिलियन डलर बढेमा आफूहरु एक ट्रिलियन डलर घट्न तयार रहेको डेमोक्र्याटसहरुले बताएका छन् ।

यसैबीच अमेरिकन एयरलाइन्सले राहत प्याकेज पारित नभएमा आफूले १९ हजार कर्मचारीलाई बेतलवी विदा दिने अवस्था आउने बताएको छ । जसका कारण राहत प्याकेज पारित गर्नमा दवाव पुगेको विश्वास गरिएको छ ।

दुबै पक्ष १२ सय डलरको अर्को चरणको राहत चेक पठाउने पक्षमा सहमत छन् । तर काम गुमाएकालाई साप्ताहिक ६ सय दिने सन्दर्भमा भने फरक फरक धारणा छन् । सिनेट र हाउस दुबै अहिले छुट्टीमा छन् । तर सहमति कायम भएमा सुचारु गरिने नेताहरुले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com