ह्वाइट हाउसमै नागरिकता वितरण समारोह, भारतीय मूलका मतदाताको मन जित्ने ट्रम्पको जुक्ती


प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार

रिपब्लिकन राष्ट्रिय सम्मेलनको दोश्रो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमै नागरिकता वितरण समारोह गरेका छन् । जुन समारोहको भिडियो रिपब्लिकन सम्मेलनमा समेत देखाइएको छ ।

होमल्याण्ड सेक्युरिटीका कार्यवाहक सेक्रेटरी चाड उल्फको उपस्थीतिमा राष्ट्रपति ट्रम्पले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । चाड उल्फले नै उनीहरुलाई नागरिकताको सपथ ग्रहण गराएका थिए । तीनजना महिला र दुईजना पुरुषलाई नागरिकता वितरण गरिएको थियो । जसमध्ये एकजना महिलाले टाउकोमा स्कार्फबाँधेकी थिइन् भने अर्कीले सारी लगाएकी थिइन् । नागरिकता लिनेहरु भारत, लेबनान र सुडानका भएको जनाइएको छ ।

ह्वाइटहाउसको ग्रेट हलमा उक्त नागरिकता वितरण कार्यक्रम गरिएको थियो । कार्यवाहक सेक्रेटरी चाड उल्फको नियुक्ती गैरकानुनी भएको चर्चा चलिरहेको बेला ह्वाइट हाउसमा यस्तो कार्यक्रम गरेर ट्रम्पले एउटै गुलेलीले धेरै चरा मार्न खोजेको विश्लेषण गरिएको छ ।

भारतीय महिलालाई ह्वाइटहाउसमा आयोजित नागरिकता वितरण समारोहमा सहभागी गराएर उनले भारतीय मुलका मतदाताको मन जित्न खोजेको समेत विश्लेषण गरिएको छ । भारतीय मुलकी कमला ह्यारिसको उपराष्ट्रपतिमा उम्मेदवारी आएदेखि ट्रम्पले भारतीय मतदाताको मन जीत्न विभिन्न उपायहरु अपनाइरहेका छन् ।

रिपब्लिकन सम्मेलनको पहिलो दिनमा समेत हाउडी मोदीको भिडियो देखाएर भारतीय मुलका मतदाताहरुलाई प्रभावित पार्न खोजिएको थियो । हाउडी मोदी कार्यक्रम मोदीको स्वागतमा गत बर्षको सेप्टेम्बरमा टेक्सासमा आयोजना गरिएको थियो, जसको जवाफमा मोदीले गत फरबरीमा नमस्ते ट्रम्प कार्यक्रमको आयोजना गरेका थिए ।

रिपब्लिकन सम्मेलनमा देखाइएको उक्त भिडियो ट्रम्प जिताऔं आर्थिक समितिका राष्ट्रिय अध्यक्षले ट्वीट गर्दै ट्रम्पको चुनावी अभियानमा भारतीय अमेरिकनहरुको समर्थन रहेको बताएका थिए । उक्त भिडियो ट्रम्पका छोराले पनि रिट्वीट गरेका थिए । झण्डै १२ लाख भारतीय अमेरिकनहरुले आगामी चुनावमा मतदान गर्दैछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com