एकपटक निको भएका कोरोना संक्रमितलाई साढे चारमहिनामा पुन संक्रमण


प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार

एकपटक निको भइसकेका कोरोना संक्रमितलाई चारमहिनामा पुन संक्रमण भएको मामला सार्वजनिक भएको छ । हङकङका वैज्ञानिकहरुले दोश्रो पटक कोरोना भाइरसबाट संक्रमित बिरामी पुष्टी गरेका हुन् ।

३० बर्षभन्दा बढी उमेरमा ती व्यक्तिलाई झण्डै साढे ४ महिना अगाडि पहिलोपटक कोरोना संक्रमण भएको पुष्टी भएको थियो । एउटै व्यक्तिलाई दोश्रोपटक संक्रमण हुनसक्ने बताइदै आएपनि पुष्टी भएको मामला भने यो पहिलो हो ।

विश्व स्वास्थ्य संगठनले भने एउटा बिरामीको विषयलाई लिएर कुनै निष्कर्षमा पुग्न नसकिने बताएको छ । कतिपय बैज्ञानिकहरुले दोश्रो पटक संक्रमण दुर्लभ भएको बताएका छन् ।

हङकङ विश्वविद्यालयको रिपोर्ट अनुशार ती व्यक्ति सक्रमणबाट निको हुनुभन्दा अगाडि १४ दिनसम्म अस्पतालमा भर्ना भएका थिए । पछिल्लोपटक विमानस्थलमा गरिएको परीक्षणमा उनमा दोश्रोपटक कोरोना संक्रमण देखिएको थियो । यद्यपी उनमा संक्रमणको कुनै लक्षण भने थिएन ।

झण्डै २ साता अगाडि अमेरिकन सीडीसीले नयाँ निर्देशिका जारी गर्दै एकपटक कोरोना संक्रमण भएर निको भएको व्यक्ति तीनमहिनासम्म सुरक्षित हुने जनाएको थियो । कोरोना संक्रमणबाट निको भएको व्यक्ति तीनमहिनासम्म अरुसँग घुलमिल हुनका लागि कुनै जोखिम नभएको सीडीसीले जनाएको थियो ।

प्रतिरोधात्मक क्षमता तीनमहिनासम्म कायम रहने पहिलोपटक स्वीकार गरिएको थियो । गत जुनमा गरिएको एउटा अध्ययनमा कोरोनाको सामान्य लक्षण भएका वा नभएका संक्रमितहरु निको भएको दुईदेखि तीनमहिनासम्म एन्टीबडी कायम रहने निष्कर्ष निकालिएको थियो ।

एकपटक कोरोना संक्रमण भएको पुष्टी भएका व्यक्तिलाई तीनमहिनासम्म परीक्षणको कुनै जरुरत नभएको सीडीसीले जनाएको छ । तर लक्षणहरु पुन विकाश भएको खण्डमा भने परीक्षण गर्न सुझाव दिइएको छ ।

सार्स र मर्स लगायतका कोरोना भाइरसका एन्टीबडी एकबर्षसम्म कायम रहने बैज्ञानिकहरुको विश्वास छ । सुरुमा कोभिड १९ को एन्टीबडी पनि एकबर्ष कायम रहने विश्वास गरिएको थियो । तर अहिले कोभिड १९ को एन्टीबडी भने छोटोसमय रहने निष्कर्ष निकालिएको छ ।

गत मेमा प्रकाशित एउटा अध्ययनमा कोरोना संक्रमणबाट निको भएकाहरु काममा फर्कनसक्ने बताइएको थियो । तर उनीहरु कति लामोसमयसम्म संरक्षीत हुन्छन् भन्नेबारे केही खुलाइएको थिएन । कतिपय व्यक्तिहरु दोश्रोपटक संक्रमित भएका खबरहरु पनि आइरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com