ट्रम्प प्रशासनले अप्रमाणित कोरोना भ्याक्सिन स्वीकृत गरे राजिनामा दिने एफडीए अधिकारीको घोषणा


प्रकाशित मिति : भाद्र ५, २०७७ शुक्रबार

ट्रम्प प्रशासनले अप्रमाणित कोरोना भ्याक्सिन स्वीकृत गरेमा आफूले राजिनामा दिने एफडीएका उच्च अधिकारीले घोषणा गरेका छन् । एफडीए अमेरिकामा खाद्य तथा औषधीको नियमन गर्ने सरकारी निकाय हो ।

भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको पुष्टी नभएसम्म स्वीकृत गर्न नहुने उनको तर्क छ । एफडीएका निर्देशक पिटर मार्कसले सरकारी अधिकारीहरु, फार्मास्युटिकल्सका कार्यकारीहरु लगायतसँगको एउटा कन्फ्रेन्स कल बैठकमा यस्तो चेतावनी दिएका हुन् ।

बैज्ञानिकहरु, जनस्वास्थ्य अधिकारीहरु र सांसदहरु ट्रम्प प्रशासनले एफडीएलाई नोभेम्बरको राष्ट्रपतिको चुनाव अगाडि नै अप्रमाणित भ्याक्सिन स्वीकृत गर्न दवाव दिनसक्नेमा चिन्तित रहेका छन् । एफडीए विज्ञानबाट निर्देशित हुने र आफूले कुनै राजनीतिक दवाव सामना नगरेको मार्कसले बताएका छन् ।

आफ्नो सिमारेखाबारे आफैले निर्धारण गर्नुपर्ने बताउँदै उनले कुनैपनि असुरक्षित वा प्रभावहीन भ्याक्सिन कार्यान्वयनमा ल्याएको आफूले हेरे नबस्ने र त्यही नै आफ्नो सिमारेखा भएको उनको भनाई छ । यदि आफूले राजिनामा दिने अवस्था आएमा भ्याक्सिनमा केही खराबी छ भन्ने संकेत बुझ्न उनले आग्रह गरेका छन् ।

हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ को चुनाव अगाडि नै भ्याक्सिन आउने बताएका थिए । अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले पनि कोरोनाभाइरस भ्याक्सिनका सन्दर्भमा कुनै राजनीतिक प्रभाव नपर्ने बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com