साप्ताहिक ६ सय थप्ने बिलमा मात्र भएपनि मतदान गर्न गरिएको प्रस्ताव पेलोसीबाट अस्वीकार
प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार
अमेरिकामा काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलरको अवधि थप्नका लागि शनिबार त्यसबारेको प्याकेजमा मतदानका लागि ११४ जना डेमोक्रेटिक सांसदले गरेको प्रस्ताव हाउस स्पीकर न्यायन्सी पेलोसीले अस्वीकार गरेकी छिन् । बेरोजगारी विमाको अतिरिक्त रकमका सन्दर्भमामात्र मतदान गर्दा राहत प्याकेजमा अन्य पहलुहरुको अवमूल्यन हुने उनको भनाई छ ।
जुलाईको अन्तिममा नै समाप्त भएको उक्त सुविधाको अवधि बढाउन आग्रह गर्दै सांसदहरुले पेलोसीलाई संयुक्त हस्ताक्षरसहितको पत्र दिएका थिए । तर अहिले बेरोजगारी विमाको अतिरिक्त रकममात्र थप्ने बिलमा मतदान गर्दा कोरोनाभाइरस राहतको वार्तामा नकारात्मक असर पर्ने बताएकी छिन् । तर उनले आफू व्यक्तिगत रुपमा बेरोजगारी विमाको अतिरिक्त रकम थप्ने पक्षमा रहेको बताएकी छिन् ।
हाउस स्पीकर न्यायान्सी पेलोसी र हाउसमा डेमोक्रेटिक नेता स्टेनी होयरलाई सम्बोधन गरेर लेखिएको उक्त पत्रमा साप्ताहिक ६ सय डलरको सुविधा पुनस्थापित गर्ने बिल ल्याउन दवाव दिइएको थियो । बरु राज्यको बेरोजगारी दर कम हुँदै गर्दा साप्ताहिक रकमको दर पनि घटाउँदै लैजाने प्रस्ताव गरिएको थियो ।

सहमति कायम हुन नसक्दा अहिले संसदबाट कुनै पनि राहत प्याकेज पारित हुन सकेको छैन । डेमोक्र्याटहरु राहत प्याकेज ३ ट्रिलियनबाट आधा घटाउन सहमत भएका त छन् तर यसबारे थप वार्ता वा सहमति पनि कायम हुन सकेको छैन ।
सहमति कायम हुन नसकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्त १ देखि लागु हुनेगरी साप्ताहिक ३ सय डलर प्रदान गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तर त्यसका लागि ४४ बिलियनमात्र रकम रहेकाले त्यो रकम झण्डै तीनसातामात्र पुग्ने देखिएको छ । जुन तीनसाता पुरा भइसकेको छ ।






